२१ माघ २०८२ बुधबार
image/svg+xml
समाज

सर्लाहीमा नक्कली नोट बनाउने गिरोह सक्रिय रहेको खुलासा

सर्लाहीमा नक्कली नेपाली रूपैयाँको कारोबार फस्टाएको आशंका गरिएको समयमा नक्कली नोट बनाउने गिरोह नै सक्रिय रहेको खुलासा भएको छ। गत तीन महिनादेखि प्रहरीले निगरानी बढाउँदा विभिन्न नौजनालाई नियन्त्रणमा लिएको र रूपैयाँ बनाउने कागजको बन्डल नै बरामद भएको घटनाले नक्कली रूपैयाँ बनाउने गिरोह सक्रिय रहेको पुष्टि भएको हो।

सर्लाहीको बलरा नगरपालिका– ६ गडहिया गाउँका विवेक कुर्मीको घरमा नक्कली नोट बनाउने मेसिन नै सञ्चालन गरी नक्कली नोट बनाउने काम भइरहेको सूचनाका आधारमा प्रहरीले छापामारी खानतलासी गर्दा पैसा छाप्ने कागज दुई पोका बरामद भएको छ। घरधनी विवेक कुर्मी फरार भएका छन्। नक्कली नोट बनाउने कार्यमा सहयोग गरिरहेको भनिएका अन्य चारजना पनि फरार भएका छन्। फरार पाँचैजनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

यसअघि बलरा नपा– ५ अर्नाहा टोलका रामप्रसाद यादव नक्कली नेपाली रूपैयाँसहित पक्राउ परेका छन्। बिहीबार बेलुकी बरहथवा नगरपालिका–१७ स्थित बागमती सिँचाइ आयोजनाको नहरमा दुई लाख ६८ हजार नेपाली नक्कली रूपैयाँसहित मधेस प्रदेश जनकपुर र इप्रका बरहथवाको संयुक्त टोलीले यादवलाई चारैतिरबाट घेरा हाली पक्राउ गरेको हो। यादवलाई चेकजाँच गर्दा लाखौं रूपैयाँ नेपाली हजारको नक्कली नोट बरामद भएको हो।

प्रहरीले अहिलेसम्म राम प्रवेश राम, सुबन परियार,गोपाल खनालसहित नौजनालाई नक्कली नेपाली रूपैयाँ कारोबार गरेको आरोपमा पक्राउ गरिसकेको छ। पछिल्लो समय प्रहरीले तीन लाख ३६ हजार रूपैयाँ नक्कली नोट बरामद गर्नुका साथै २३७ बन्डल कागज र कागज काट्ने मेसिन बरामद गरिसकेको छ। यसैगरी नक्कली नोटको कारोबारमा प्रयोग गरिने भारतीय नम्बरका गाडी पनि बरामद गरिसकेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीको कमान्ड सम्हालेपछि एसपी नरेशराज सुवेदी लागुऔषध नियन्त्रण, गाँजा फडानी तथा नक्कली नेपाली नोटको कारोबारलाई नियन्त्रण गर्न सक्रिय देखिएका छन्। पटकपटक गरी लाखौं रूपैयाँ नक्कली नोट बरामद गरिसकेको सर्लाही प्रहरीले नक्कली नोट छाप्ने मेसिन नै बरामद गर्न नसके पनि कारोबारीमा खैलाबैला मच्चाउन सफल भएको छ। सर्लाही प्रहरी प्रमुख एसपी सुवेदीले सर्लाहीमा नक्कली नोट बनाउने गिरोह नै सक्रिय रहेको बताएका छन्। निकट भविष्यमा पूरा गिरोहको पर्दाफास हुने एसपी सुवेदीले बताए।

प्रकाशित: २६ चैत्र २०७९ ०२:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App