नयाँ वर्षको आगमनसँगै भक्तपुरमा चल्ने प्रख्यात बिस्का जात्राको क्रममा तानिने भैरवनाथको रथमा अनधिकृत मानिसहरू चढेमा कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूचित गरेको छ। प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले एउटा सूचना जारी गरी रथमा अनधिकृत मानिस चढेमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने जनाएको छ।
आठ रात नौ दिन मनाइने भक्तपुरको बिस्केट जात्रा यो वर्ष चैत २७ गते सोमबारदेखि सुरु हुँदै छ। जात्राको पहिलो दिन पाँचतले मन्दिरमा राखेर काठैकाठबाट प्याडोडा शैलीमा बनाइएको करिब ३० फिट अग्लो तीनतले भैरवनाथको रथलाई दुवैतिर डोरी राखेर तानेर सुरु हुने परम्परा छ। यो जात्राको क्रममा यही रथमा अनधिकृत सर्वसाधारण चढेर उपद्रो गर्ने गरिन्छ। यही कारण रथ बिग्रने, हुलदंगा हुनेलगायत अमर्यादित काम हुने भएकाले प्रशासनले यस्तो सूचना जारी गरेको हो।
प्रशासनले जात्रा अवधिभर जिल्लामा खुला बोटलमा रक्सी बेच्न बन्देज गरेको छ। भक्तपुरको बिस्का जात्रा र मध्यपुर थिमिको जिब्रो छेड्ने जात्रालाई शान्तिपूर्ण बनाउन रक्सी बेच्न बन्देज गर्न सूचनामा उल्लेख छ। सूचनामा जात्रालाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सबै राजनीतिक दल, नागरिक समाज, स्थानीय क्लबहरूलाई आह्वान गरिएको छ।
प्रकाशित: २४ चैत्र २०७९ ०१:०८ शुक्रबार





