८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

प्रावधान विपरीत स्थापित अलकत्रा उद्योगका कारण वातावरण प्रदूषित

मोरङको उर्लाबारी ३ चन्दनेमा सञ्चालनमा आएको मिक्लाजुङ ईन्भेष्मेण्ट कम्पनी प्रालिले समुदायलाई असर पर्नेगरी अलकत्रा पगाल्न थालेपछि बिरोध शुरु भएको छ।

समुदायबाट करिव ३ किलोमिटर टाढा रहनुपर्ने प्रावधान रहे पनि उद्योगले उक्त नियम पालना नगर्दा पशु चौपाया मरेको स्थानीयले बताएका छन्। उद्योग सञ्चालनका कारण समुदाय, खोला र विद्यालय नजिकै अलकत्रा पगाल्ने मेसिनले स्थानीयको स्वास्थ्यमा असर देखापरेको उनीहरू बताउँछन्। 

मापदण्ड विपरीत समुदायको बिचमा अलकत्रा पगाल्न थालेपछि स्थानीयहरू आक्रोशित भएका हुन। गाउँघरमा भएका पशु चौपाय मर्ने र बालबालिकाको स्वास्थ्यमा असर पर्न थालेपछि स्थानीयले उद्योगमा तोडफोडसमेत गरेका छन्। 

मानव स्वास्थ्यमाथि खेलबाड गर्ने उद्योग तोडफोडको आरोपमा इलाका प्रहरी कार्यालय उर्लाबारीले स्थानीय ४ जना युवालाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएका अर्जुन श्रेष्ठ र गोपाल देउजालाई प्रहरीले छोडे पनि मनोज लिम्बू र सन्तोष लिम्बू भने इलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा छन्। 

यता उद्योग रेखदेख गर्दै आएका इन्चार्ज जगन्नाथ रेग्मीले भने स्थानीयको स्वास्थ्यमा असर नपर्ने गरी उद्योग सञ्चालन गरे पनि स्थानीय युवा आएर तोडफोड गरेको बताए। मापदण्ड विपरीत सञ्चालनमा आएका र मानव स्वास्थ्यमा असर पर्ने कुनै पनि उद्योग सञ्चालनमा रोक लगाउने उर्लाबारी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष भीष्म बुढाथोकीले बताए। 

सुरुमा च्याउ उद्योग खोल्ने भने पनि पछि अक्सप्लान्ट प्रविधिको उद्योग सञ्चालनमा ल्याएको स्थानीयहरूको भनाइ छ। पटक पटक बिरोध गर्दै उद्योग सञ्चालनमा रोक लगाए पनि निर्माण पक्षले बेवास्ता गर्दै आएको छ। स्थानीय, जनप्रतिनिधि र निमार्ण पक्षबिच समुदायलाई असर गर्ने गरी उद्योग सञ्चालन नगर्ने सहमति भए पनि सहमति कार्यान्वयन हुन सकेको छैन।

कानुनअनुसार मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने यस्ता उद्योग समुदायबाट ३ किलोमिटर टाढै रहनुपर्ने प्रावधान छ। उद्योगले भने सो नियमको पालना नगरेको पाइएको छ। उद्योगबाट निस्कने धुवाँले गाउँमा रहेका मानिस मात्रै होइन जनवारमा पनि प्रत्यक्ष असर पर्न थालेको स्थानीयले गुनासो गरेका छन्। स्थानीय कृषकले फर्ममा पालेका कुखुरा खसी मर्ने र स्कुले बालबालिकाको आँखा सुनिने खोकी लाग्ने जस्ता समस्या देखा परेको विद्यार्थीहरू बताउँछन्। 

प्रकाशित: १९ चैत्र २०७९ ०६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App