खानेपानी मन्त्री अब्दुल खानले आफूले गरेको जति काम अन्य मन्त्रालयले गर्ने हो भने देश बन्न समय नलाग्ने बताएका छन्।
शुक्रवार सिंहदरबारभित्र ४ स्थानमा सार्वजनिक खानेपानीको धारा उद्घाटन गर्दै मन्त्री खानले यस्तो दाबी गरेका हुन। उनले आफूले मन्त्री बनेर काम गरेको लगभग साढे २ महिना भएको भन्दै यो अवधिमा आफूले सोचेअनुसार काम गर्न नसकेपनि राम्रो काम गरेको दाबी गरे।
उनले आफूले मन्त्री बनिसकेपछि नै सबै नेपालीहरुलाई जार र बोतलको पानी किन्नुपर्ने अवस्थाबाट मुक्त गरी सार्वजनिक धाराको पानी खुवाउने घोषणा अनुसार सिंहदरबारबाट काम शुरु गरेको बताए। उनले अब छिटै नै विभिन्न सार्वजनकि स्थल, शौचालय, विमानस्थल, बसपार्क र अस्पताल लगायतका स्थानमा सार्वजनिक धारा राख्ने बताए।
उनले मन्त्रालयका विभिन्न समस्याका कारण अझैपनि आफूले चाहेको गतिमा काम गर्न नसकेको धारणा राखे। मन्त्री खानले बोतल र जारमा महंगो मूल्यको नियन्त्रण गर्ने काममा मन्त्रालय लागेको भन्दै पानीको मूल्य ५ महिनाभित्र घटाएरै छोड्ने दाबी गरे। उनले देशका हरेक क्षेत्रमा ५ वर्षभित्र खानेपानीको समस्या समाधान गर्नेगरी मन्त्रालयले काम गरिरहेको बताए।
शुक्रवार खानेपानी मन्त्रालय, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सक्रियतामा निःशुल्क रुपमा सेवा पाउनेगरी स्वच्छ खानेपानी धाराको उद्घाटन भएको हो। निकट भविष्यमा काठमाडौं उपत्यकाका अन्य सार्वजनिक ठाउँमा सेवा बिस्तार गर्ने मन्त्तालयको योजना छ।
प्रकाशित: १७ चैत्र २०७९ ०६:४५ शुक्रबार





