१७ पुस २०८२ बिहीबार
image/svg+xml
समाज

दाइजो रोक्न मधेसका दूरदेहातमा नाटक प्रदर्शन

फोटोःनागरिक

मिथिलाञ्चलमा केही दशकअघिसम्म स्वयंवर संस्कार (स्वयम् वर चुन्ने) अनुसार विवाह छिनोफानो हुन्थ्यो। राजा जनकको यो परम्परा चल्दासम्म केटी पक्षकै बोली बिक्थ्यो। केटी पक्षकै सर्तअनुरूप केटा पक्ष विवाहका लागि राजी हुन्थे। केटा पक्षबाट बेहुली (छोरी) असुरक्षित हुने अवस्था थिएन। तर अहिले समय उल्टिएको छ। केटा पक्षको सर्तअनुरूप केटी पक्ष विवाहका लागि बाध्य हुनुपर्ने अवस्था छ। केटा पक्षबाटै केटी (छोरी) असुरक्षित हुनुपर्ने विडम्बनापूर्ण अवस्था छ।

बैशाख आउनै लाग्दा बिवाहको छिनोफानोमा बर(केटा) बधु(केटि) पक्ष व्यस्त छन्। बैशाख लागेसँगै विवाहको माहोल उत्कर्षमा पुग्छ। तामझामका साथ हुने दाइजो विवाहमा प्रदेश सरकारका मन्त्रीदेखि सांसद र स्थानीय सरकारका प्रतिनिधिको उत्साहपूर्ण सहभागिता देखिन्छ। यसले दाइजो निरुत्साहनभन्दा पनि प्रोत्साहन भइरहेको सामाजिक अभियन्ताहरूको टिप्पणी छ। मानव विकास सूचकांक अनुसार यस प्रदेशको गरिबी दर ४७ प्रतिशत छ। विवाहमा हुने दाइजोको ‘क्यास’ कारोबारले यस प्रदेशको गरिबीलाई झन् बढाउने अभियन्ताहरू बताउँछन्।

मधेसमा गाँजिएको दाइजो प्रथा निरुत्साहित पार्न प्रयास नभएका भने होइनन्। दाइजो नियन्त्रणका लागि सडक नाटक मार्फत समाजमा सचेतना फैलाउने काम मधेस प्रदेशका जिल्लाहरु फैलिँदै छ। मधेस प्रदेशको पर्सा, बारा र सिरहा जिल्लामा दाइजोको नकारात्मक पक्षबारे सडक नाटक प्रदर्शन गरिँदै छ। दलित महिला केन्द्र नेपालले यी जिल्लाहरुको दूरदेहातमा चैत ९ गते देखि १५ गते सम्म दाइजोको नकरात्मक पक्षबारे स्थानीयहरुलाई सचेत गराएको पृथा खनालले बताईन।  

बिवाहको नाममा लिइने दाइजोकोका कारण हुने घरेलु हिंसा देशैभर छ खनाल भन्छिन्,‘ मधेस प्रदेशमा कुप्रथाको रुपमा फैंलिदो छ। देहातमा सचेतना ब्यापक बनाएर यस कुप्रथालाई नियन्त्रण गर्ने हाम्रो उदेश्य हो, उनले भनिन्।  

मधेसमा दाइजोका कारण हत्या, कुटपिट, घरेलु हिंसा, जलाउने जस्ता घटना बढ्दो छ। यसै वास्ताविक घटनालाई नाटकमार्फत ग्रामीण भेगमा प्रदर्शन गरिँदै छ। नाटक मार्फत पीडितले स्थानीय न्यायिक समिति तथा प्रहरीप्रशासन मार्फत कसरी न्याय पाउन सकिन्छ भन्ने विषय पनि देखाइएको खनालले बताइन। नाटकमा सिरहाका मुकेश यादव , कल्पना पासवान, सुनील लामा, टुना आलेमगर, बिजय साह लगायतका १० जना कलाकारले विषयबस्तुअनुसार प्रस्तुती प्रदर्शन गरेका थिए।

नाटक पर्साको पटेर्वा सुगौली गाउँपालीका , ठोरी गाउँपालीका , सखुवा प्रसौनी गाउँपालीका, बाराको निजगढ नगरपालीका , कोल्वी नगरपालीका तथा करैयामाइ गाउँपालीका, सिरहाको धनगढी नगरपालीका, गोलबजार नगरपालीका, कर्जन्हा नगरपालीका र नरहा गाउँपालीकामा प्रस्तुत गरीएको थियो।

प्रकाशित: १६ चैत्र २०७९ ०७:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App