प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नाराबाजी गरेका तीन जना युवाहरु मंगलबार धरौटी रकम बुझाएर रिहा भएका छन्।
नाराबाजी गर्ने ती युवाहरु विरुद्ध काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अभद्र व्यवहार मुद्दामा चैत १२ गते ५ हजार रुपैयाँ धरौटी तोकेका थिए। तर ती युवाले धरौटी नबुझाएका कारण उनीहरुलाई जेल चलान गरिएको थियो।
गत चैत ७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ५८ औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सम्बन्धी सार्वजनिक कार्यक्रममा जान लागेका बेला सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्काले प्रधानमन्त्री दाहालविरुद्ध नाराबाजी गरेका थिए।
नेपाल प्रहरीले नाराबाजीका क्रममा उनीहरुलाई नियन्त्रण लिएको थियो। यस क्रममा प्रहरीले उनीहरुको मुख थुनिदिएको फोटो र भिडियो सार्वजनिक भयो। यो घटनाको विरुद्धमा व्यापक आलोचना भइरहेको छ।
प्रकाशित: १४ चैत्र २०७९ १४:३७ मंगलबार