२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

आँखा शिविरबाट उदयपुरका ७४ पत्रकारसहित डेढसय लाभान्वित

कारागार शाखा उदयपुरका कैदीबन्दीहरु आँखा शिविरपछि फोटो खिच्दै। तस्विरः महेश्वर

नेपाल पत्रकार महासंघ उदयपुरद्वारा सदरमुकाम गाईघाटमा आयोजि निशूल्क आँखा शिविरमा ६ दर्जन वढी पत्रकारसहित डेढसयले आँखा जाँच गराएका छन्। महासंघको ‘६८ औँ स्थापना दिवस’ तथा मदन भण्डारी स्मृति आँखा अस्पतालको प्रथम स्थापना दिवसको अवसरमा आयोजित शिविरमा पत्रकार र कैदीबन्दीहरु लाभान्वित भएका हुन्।  

नेपाल नेत्रज्योति संघको ४५ औँ स्थापना दिवससमेत परेको अवसरमा मदन भण्डारी आँखा अस्पताल बाँसबारी बोक्सेमा आयोजित शिविरमा वरिष्ट पत्रकार कौशल चेमजोङ, बद्री काफ्ले, श्याम राई, भक्तिविलाश पोखदरेल र केदार थापादेखि कनिष्ट सञ्चारकर्मीसम्म लाभान्वित भएको महासंघका अध्यक्ष भरत खड्काले बताए। उनका अनुसार शिविरमा पत्रकार र उनीहरुका परिवारसहित ७४ जनाले निःशुल्क आँखा जाँच गराएका छन्।

७४ जनामध्ये ३४ जनाको आँखाको ज्योति कमजोर बन्दै गएको पाइएको छ। ज्योति कमजोर भएका पत्रकारहरु आँखाको थप उपचारका लागि महासंघले नेत्र ज्योति संघसँग समन्वय गर्ने पनि अध्यक्ष खड्काले बताए। उनीहरु सबैलाई महासंघको समन्वयमा चिकित्सकको सुझाव अनुसार नेपाल नेत्र ज्योति संघ र आँखा अस्पतालको सहकार्यमा निःशुल्क चश्मा वितरण गरिने छ।  

ज्योति कमजोर भएका पत्रकारहरुलाई आँखाको अवस्था वर्गीकरण गरी तयसका आधारमा चश्मा प्रयोग गर्न चिकित्सकले सुझाएका छन्। सञ्चारक्षेत्रमा काम गर्नेुपर्ने भएकाले पत्रकारहरुको अधिकांश समय प्रविधिसँग खेलेर वित्ने हुँदा आँखा कमजोर भएको हुनसक्ने अनुमान गर्दै शिविर सञ्चालन गरिएको महासंघका उपाध्यक्ष गंगा राईले बताईन्। पेशागत कारण धेरै समय ल्यापटप, कम्प्युटर र मोवाईलसँग बिताउनु पर्ने भएकाले पत्रकारको आँखामा समस्या आउनु स्वभाविक हुने हुँदा आँखाको अवस्था पत्ता लगाउन शिविर राखिएको उनको भनाई छ।  

महासंघले गर्ने हरेक स्थापना दिवसलाई फरक ढंगले मनाउने उदेश्यले यसपटक आँखा शिविर राखिएको अर्का उपाध्यक्ष पर्शुराम थापाले बताए। जहिल्यै प्रभातफेरी, दिप प्रज्वलन, कोणसभा तथा अन्तरक्रियाजस्ता औपचारिक कार्यक्रम मात्र गरेर मनाउँदै आएको स्थापना दिवसलाई यसपटक फरक ढंगले मनाउन आँखा शिविर र बुस्टर जोड खोप दिने कार्यक्रम राखिएको उनले बताए।  

आँखालाई केन्द्रभागमा राखेर मनाइएको शिविरमा मानव स्वास्थ्यसँगै सम्बन्धित कोविडको बुस्टर डोज लगाएर भिन्न ढंगले स्थापना दिवस मनाउनुलाई महासंघको रचनात्मक काम भएको पत्रकारहरुको बुझाई छ। यसअघिभन्दा बिल्कुल फरक र रचनात्मक तरिकाले यो वर्षको स्थापना दिवस मनाउन पाएको महासंघका सल्लाहकार तथा पूर्व उपाध्यक्ष भोटराज राईले प्रतिक्रिया दिए। अन्य पत्रकारहरुले पनि महासंघको स्थापना दिवस मनाउने फरक र सिर्जनसिल तरिकाको प्रशंसा गरेका छन्।  

सोमबारै नेत्र ज्योति संघले आफ्नो ४५ औँ स्थापना दिवस तथा मदन भण्डारी आँखा अस्पतालको प्रथम स्थापना दिवसको अवसर पारेर जिल्ला कारागार शाखामा सजाय भोग्दै आएका कैदीबन्दीको पनि निःशुल्क आँखा परीक्षण गरेको छ। कैदीबन्दीको आँखाको समस्यालाई मध्येनजर राख्दै आयोजित शिविरमा ७७ जनाले सेवा पाएको आँखा अस्पतालका सहकोषाध्यक्ष कुमार घिमिरेले बताए। अस्पतालले आँखा चिकित्सकको टोली कारागार शाखामै पुगेर कैदीबन्दीको आँखा जाँच गराएको थियो।  

भर्खरै सञ्चालनमा आएको आँखा अस्पतालाई नाफामुखी नभएर सेवामुखी बनाउदै अघि बढाउने उदेश्यले यस्ता शिविरहरु सञ्चालन गर्दै आएको घिमिरेले बताए। उनका अनुसार यसअघि पनि अस्पताले बिभिन्न गाउँबस्तीसम्म पुगेर निःशूल्क शिविर सञ्चालन गर्दै जटिल प्रकारका मोतियाबिन्दुका रोगीहरुको शल्यक्रिया (अप्रेसन) गर्दै ज्योति फर्काउने काम गर्दै आएको छ। घिमिरेले यस्तो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिदै लाने बताएका छन्। 

प्रकाशित: १४ चैत्र २०७९ ०६:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App