१७ माघ २०८२ शनिबार
image/svg+xml
समाज

लैङ्गिक हिंसा न्यूनीकरण गर्न तालिम

बाराको निजगढमा ‘लैङ्गिक संवेदनशील प्रहरी अनुसन्धान’ सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

आइतबार र सोमबार भएको सो प्रशिक्षणमा बारा र पर्साका प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो।

दलित महिला केन्द्र नेपालको आयोजनामा भएको सो तालिममा प्रहरी कर्मचारीहरुले लैङ्गिक हिंसा सम्बन्धी अनुसन्धानको क्रममा पीडित पक्ष खुलेर नआउँदा दोषीलाई कारबाही गर्न कठिनाइ हुने गरेको बताए। अनुसन्धानको क्रममा पीडित महिलाहरू पारिवारिक दबाब तथा सामाजिक र राजनीतिक दबाबको घेरा मा पर्दा सही प्रमाणहरु जुटाउन समेत अप्ठ्यारो हुने गरेको बताए।

न्यायिक समितिले हेर्ने मुद्दा पनि प्रहरी प्रशासनमा आउने गर्दा आपराधिक घटनाका अनुसन्धानमा कठिनाइ हुने गरेको प्रहरी अधिकारीहरुको भनाइ रहेको थियो।

तालिममा महिला अधिकारकर्मी तथा लैङ्गिक समानता समावेशी विषयकी प्रशिक्षक शरु जोशीले महिला हिंसा सम्बन्धी घटनाको न्यूनीकरणमा ‘फ्रन्ट लाइन’ मा खट्ने प्रहरीकर्मीरुको मुख्य भूमिका रहेको बताइन।

उनले प्रहरी कर्मचारीलाई पीडित पक्षसँग कुराकानी गर्दा मानव अधिकारका कुरा ध्यानमा राखी अनुसन्धान गर्नुपर्ने बताइन। नेपालको संविधानमा नै लैङ्गिक समानता समावेशीकरण, बहिष्करण समता इत्यादि कुराहरू मूल्य मान्यताको रुपमा स्वीकार गरिएको उनले भनिन। दिगो विकास लक्ष्यमा अबको ७ वर्षमा अन्त्य गर्ने लक्ष्य बनाएकाले यसलाई सम्भव गर्न पनि हरेक नागरिक र प्रहरीले आफ्नो बोली बचन परिवर्तन गरि सेवा प्रवाहमा संवेदनशीलता अपनाउनु पर्ने प्रशिक्षक जोशीले बताइन।

कार्यक्रमका अर्का प्रशिक्षक कुमार खड्काले पनि प्रहरी प्रशासनले अनुसन्धान गर्दा महिलाहरू माथि लैङ्गिक हिंसा सम्बन्धी मुद्दामा संवेदनशील भएर अनुसन्धान गर्नुपर्नेमा जोड दिए। प्रशिक्षक खड्काले नेपाल प्रहरीले बनाएको लैङ्गिक नीतिको बारेमा बुझाउँदै महिला प्रहरीको अभावले अनुसन्धानमा कठिनाइ भइरहेको बताए।

कार्यक्रममा सहभागी अधिवक्ता चन्द्रिका प्रसाद पटेलले हिंसाका घटनामा महिलाको संख्या बढी हुने गरेकाले नेपाल प्रहरीले पीडित मैत्री वातावरणमा अनुसन्धान गर्नुपर्ने बताए। तर  पीडित महिलाहरूसँग मैत्रीपूर्ण वातावरणमा अनुसन्धान भएको एकदमै कम देखिएको उनको भनाइ छ। अधिवक्ता पटेलले पीडितहरू एक त हिंसाका सिकार हुने त्यसमाथि उनीहरू आफै लज्जा बोध गरिरहेको बताए।

लैङ्गिक संवेदनशीलता सम्बन्धी कार्यक्रम यस अघि मधेस प्रदेशको लहानमा भएको दलित महिला केन्द्र नेपालकी सञ्चिता महर्जनले बताइन। ४ वटा पालीकामा रहेका इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरुको सहभागितामा सो तालिम सम्पन्न भएको उनले जानकारी दिइन। हिंसाका घटनामा महिलाको संख्या बढी रहेकाले उनीहरूसँग कसरी अनुसन्धान गर्दा पीडित पक्षको न्यायमा पहुँच हुन्छ भन्ने उद्देश्यका यस किसिमको तालिमको आयोजना गरिएको उनले बताइन्।

प्रकाशित: १३ चैत्र २०७९ १५:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App