१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्मार्ट लाइसेन्समा गम्भीर त्रुटि (भिडियो)

लाइसेन्समा गल्ती

काठमाडौं– बागमती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाले वितरण गर्ने स्मार्ट सवारीचालक अनुमति पत्र (स्मार्ट लाइसेन्स)को कार्डमा ३ गम्भीर त्रुटि देखिएका छन्। यातायात कार्यालयले रोजगारीका लागि विदेश जानेहरुलाई समेत तिनै त्रुटिपूर्ण लाइसेन्स वितरण गरिरहेको छ।

‘त्रुटि भएको हो। हामीले थाहा पाएपछि विभागलाई यसबारेमा जानकारी गराइसकेका छौं’, बामगती अञ्चल यातायात कार्यालयका प्रमुख तेजनारायण यादबले नागरिकन्युजसँग भने, ‘अहिलै लाइसेन्स वितरण रोक्दा थप समस्या हुने स्थिति भएका त्रुटिपूर्ण लाइसेन्स नै वितरण गरिरहेका छौं।’

सूचना चुहाएका कारण भारत सरकारले समेत प्रतिबन्ध लगाएको मद्रास सेक्यिुरिटी प्रिन्टिङ प्रेसले नेपालमा स्मार्ट लाइसेन्स कार्ड छपाईको काम गर्दै आएको छ। एसियाली विकास बैंकको सूचना तथा सञ्चार प्रविधि(आईसीटी) कार्यक्रमबाट प्राप्त २३ लाख अमेरिकी डलरको अनुदान सहयोगमा सो कम्पनीले १ लाख ६० हजार कार्ड छपाइको जिम्मा पाएको हो।

भारतीय प्रेसले काठमाडौंमा उपलब्ध गराएको ८ थान प्रिन्टिङ मेसिनमबाट कार्ड प्रिन्ट गर्दै आएको छ। यसअघि वितरण भएका करिब २२ लाख कागजी लाइसेन्सलाई समेत विस्थापित गर्नेगरी सरकारले स्मार्ट लाइसेन्सको योजना अघि बढाएको थियो।

‘त्रुटि भएको हो। हामीले विभागलाई यसबारेमा जानकारी गराइसकेका छौं’, बामगती अञ्चल यातायात कार्यालयका प्रमुख तेजनारायण यादबले नागरिकन्युजसँग भने, ‘हामीले लाइसेन्स वितरण रोक्दा थप समस्या हुने स्थिति छ।’

के के हुन् त्रुटि ?


सबै लाइसेन्स नन प्रोफेसनलः
यातायात कार्यालयले जारी गर्ने लाइसेन्स कुनै पनि प्रोफेसनल होइनन्। अन्तर्राष्ट्रिय मापदण्डअनुसार सवारी चालक अनुमति पत्र व्यावसायिक र गैरव्यावसायिक गरी दुई वर्गमा वर्गीकरण गरिएका हुन्छन्। व्यवसायिक रुपले सवारी साधन चलाउने ट्याक्सी चालक, सार्वजनिक यातायात चालक आदिलाई व्यवसायिक लाइसेन्स प्रदान गरिन्छ। निजी सवारी चालकलाई गैरव्यवसायिक अनुमति पत्र पाउँछन्। अहिले वितरण भएका सबै स्मार्ट लाइसेन्स ‘नन प्रोफेशनल’ अर्थात् गैरव्यावसायिक वर्गका हुन्। (लाइसेन्स इमेजको माथिपट्टि पहेँलो रंग पोतेको ठाउँमा हेर्नुहोस्)

वर्ग छ व्याख्या छैनः सवारी चालक अनुमति पत्रको अघिल्लो भागमा कुन किसिमको सवारी चलाउनका लागि अनुमति दिइएको हो त्यसको वर्ग (क्याटागोरी) उल्लेख भएको हुन्छ। त्यो वर्गमा कुन कुन सवारी साधन पर्छन् भन्ने व्याख्या गरिएको हुन्छ। अहिले वितरण भएको लाइसेन्समा ए र बी भनेर वर्ग खुलाइएको छ। तर ए र बी मा कुन कुन सवारी साधन पर्छन् भन्ने व्याख्या कहीँ उल्लेख छैन। लाइसेन्सको पछाडिको भाग खाली छ। (माथिको इमेज दायाँतिर हेर्नुहोस्। तलको इमेजमा पहेँलो पोतेको स्थानमा क्याटागोरी उल्लेख छ।)

लाइसेन्स जारी गर्ने निकाय उल्लेख छैनः कुनै पनि परिचयपत्र वा अनुमति पत्र जारी गर्ने संस्थाको नाम उक्त परिचय पत्र वा अनुमति पत्रमा हुनु विश्वव्यापी प्रचलन हो। नेपालमा समेत यो नियम लागू हुन्छ। हालको स्मार्ट लाइसेन्स कुन अड्डाले जारी गरेको हो भन्ने कुरा उल्लेख छैन। 

यी तीन मुख्य त्रुटिका कारण स्मार्ट लाइसेन्स बोकेर विदेश जानेहरु विशेषगरी समस्या पर्ने देखिएको छ। नेपालको हकमा सरकारी नन प्रोफेसनल लाइसेन्सलाई लिएर समस्या नभए पनि चालकको रुपमा विदेश काम गर्न जानेहरुलाई यो लाइसेन्सले काम गर्ने छैन।

१ लाख २५ हजार कार्ड वितरण
२०७२ पुष ३ गते ३७ जनालाई स्मार्ट लाइसेन्स बाँडेर यातायात कार्यालय बागमतीले स्मार्ट लाइसेन्स वितरण शुरु गरेको थियो। त्यसयता यातायात कार्यालय बागमतीबाट नयाँ लाइसेन्स, वर्ग थप, नवीकरण, प्रतिलिपी गरी हालसम्म करिब १ लाख २५ हजार स्मार्ट लाइसेन्स वितरण गरिसकेको छ। दुनियाँ डिटल बन्दै गएको अवस्थामा सरकारले स्मार्ट लाइसेन्स वितरण गरे पनि त्यसलाई व्यवस्थित गर्न नसक्दा सर्वसाधारणले सास्ती भोग्नुपर्ने अवस्था छ। 'एक्कासि वितरण रोक्दा समस्या हुनसक्छ। हामी यसलाई कसरी मिलाउने भनेर यातायात विभागसँग छलफलमा छौं', यादबले नागरिकन्युजसँग भने।

फोटो/भिडियो : प्रबीन कोइराला

प्रकाशित: २८ मंसिर २०७३ ०८:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App