म्याग्दीको मङ्गला गाउँपालिकाले सुत्केरीलाई कुखुराको भाले उपहार दिन थालेको छ। ‘संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम’ मार्फत भाले उपहार दिन थालेको हो। गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख लेखनाथ रोकाले शिशु र आमाको पोषण तथा स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति हुनेलाई कुखुराको भाले उपहार दिन थालिएको बताए।
‘गर्भ र सुत्केरी परीक्षण गराई बच्चा र आमाको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउन सुत्केरीलाई भेट्न जनप्रतिनिधि र स्वास्थ्यकर्मी भाले लिएर घरमै जाने गरेका छौं’, उनले भने, ‘घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भपरीक्षण नगराउने समस्या हटाउन गाउँपालिकाले उपहारसहित विभिन्न सन्देशमूलक अभियान सञ्चालन गरेको हो।’
तोकिएको मितिमा आठ पटक गर्भ र सुत्केरी परीक्षण गर्दा हरेकपटक एकएक क्रेट अन्डा र संस्थागत प्रसूति हुनेलाई एक कुखुराको भाले दिने गरिएको हो। संस्थागत सुत्केरी हुनेलाई संघीय सरकारले यातायात खर्च बापत दुई हजार रुपैयाँ र गर्भपरीक्षण गर्नेलाई थप आठ सय रुपैयाँ उपलब्ध गराउने गरेको छ। अन्डा र भाले गाउँपालिकाको बजेटबाट उपलब्ध गराइएको हो।
पाँच वडा रहेको मङ्गलामा वार्षिक ७०–८० जनाको अनुपातमा संस्थागत सुत्केरी हुने गरेका छन्। कुहुँ, अर्मन र बरङ्जा स्वास्थ्यचौकीमा प्रसूति सेवा उपलब्ध छ। नियमित गर्भ र सुत्केरी परीक्षण गराउँदा आमा र बच्चाको स्वास्थ्य अवस्था तथा समस्या पहिचान गरेर जोखिमको व्यवस्थापन गर्न सहज हुने स्वास्थ्यकर्मीले बताएका छन्।
चालु आर्थिक वर्ष २०७९/८० मा संस्थागत सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन भएको छ। कार्यक्रमबाट गर्भवती र सुत्केरीको खानपान, सरसफाइ र स्याहार सुधारमा जागरण आएको गाउँपालिकाका उपाध्यक्ष पेमा अधिकारीले बताए। गर्भवती, सुत्केरी र बच्चाको स्वास्थ्य, पोषण, आहरा र सरसफाइमा जागरण ल्याउन कार्यक्रमले सहयोग पुगेको उपाध्यक्ष अधिकारीले बताए। रासस
प्रकाशित: १२ चैत्र २०७९ ०५:०४ आइतबार