१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

एसिड छ्याप्ने पतिलाई साढे १० वर्ष कैद

 जनकपुरधाम उपमहानगरपालिका–७ की एसिडपीडित आरती साहको मुद्दामा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाको फैसलालाई सदर गरेको छ। धनुषाको सबैला नगरपालिका–६ मखनाहाका सञ्जीव साहले पत्नी आरतीमाथि एसिड छ्यापी कुरूप बनाएको भन्दै जिल्ला अदालत धनुषाले पति सञ्जीवलाई साढे १० वर्ष कैद र क्षतिपूर्तिस्वरूप ६ लाख रूपैयाँ जरिवाना तिर्नुपर्ने फैसलालाई उच्च अदालत जनकपुरले पनि सदर गरेको हो।

बुधबार उच्च अदालत जनकपुरका न्यायाधीश डालकुमार खड्का र सागर विष्टको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई सदर गरेको हो। उच्च अदालतको इजलास नम्बर ४ मा जाहेरीवालाको तर्फबाट अधिवक्ता रिंकुकुमारी यादव र अच्युतम आचार्यले बहस गरेका थिए। एसिडपीडित आरतीको मुद्दामा जिल्ला अदालतबाटै आफूहरू निःशुल्क बहस गर्दै आएको अधिवक्ता रिंकुले जानकारी दिइन्। आारतीका पति सञ्जीवले एसिड खरिद गरेको पसल सञ्चालक नागेन्द्र साहलाई समेत विपक्षी बनाई आरतीका भाइ सञ्जयकुमार साहले जिल्ला अदालतमा मुद्दा दायर गराएका थिए। तर जिल्ला अदालतले एसिड बेच्ने नागेन्द्रलाई सफाइ दिएपछि सञ्जय जिल्लाको फैसलाविरुद्ध उच्च अदालत पुगेका थिए। बुधबार उच्च अदालत जनकपुरले सो मुद्दामा सुनवाइ गर्दै जिल्ला अदालतकै फैसला सदर गरेको हो।

जिल्ला सरकारी वकिलको कार्यालयले सञ्जीव र एसिड बेच्ने नागेन्द्रलाई १५ वर्ष ६ महिना कैद र कानुनबमोजिम उपचार उपलब्ध गराउनुपर्ने अभियोग जिल्ला अदालतमा दर्ता गराएको थियो। तर २०७८ साउन २५ गते जिल्ला अदालत धनुषाले सञ्जीवलाई साढे ञ्० वर्ष र ६ लाख जरिवना गरेको थियो भने एसिड बेच्ने नागेन्द्रलाई सफाइ दिएको थियो।

आठ वर्षअघि सबैला नगरपालिका–६ का २८ वर्षीय सञ्जीव साह र आरती साह वैवाहिक बन्धनमा बाँधिएका थिए। डेढ वर्षपछि आरतीले छारीलाई जन्म दिइन्। पति सञ्जीवले दाइजो नल्याएको र छोरी जन्माएको भन्दै यातना दिन सुरु गरे। दुवैजनाबीच खटपट बढ्दै गयो। सासू–ससुराले पनि साथ नदिएपछि आरती जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मछरीबजार माइतीमा बस्न थालिन्।

उनीहरूको विवाद नसुल्झिने भएपछि जिल्ला प्रहरी कार्यालयमा दुवैजना सम्बन्धविच्छेद गर्ने सहमतिमा पुगे। जिल्ला प्रहरी हुँदै अदालतमा गएर सम्बन्धविच्छेद गर्न दुवै तयार भए। तर सम्बन्धविच्छेद हुनुअघि सञ्जीवले २०७७ कात्तिक २९ गते ससुरालमै पुगेर आरतीको अनुहारमा एसिड छ्यापेका थिए। एसिड आक्रमणबाट आरती मात्र नभई उनकी ७ वर्षीया छोरी रियाको समेत हात र टाउकोको केही भाग जलेको थियो।

प्रकाशित: ११ चैत्र २०७९ ०३:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App