७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

पशुचौपायामा ‘लम्पी स्कीन’ को सङ्क्रमण

बैतडीको शिवनाथ गाउँपालिकाका विभिन्न वडाका पशुचौपायामा ‘लम्पी स्कीन भाइरल’ रोग फैलिएको छ। गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा यो रोगको सङ्क्रमण फैलिएको हो।

यी वडाका करिब ६० पशु चौपायामा यो रोगको सङ्क्रमण फैलिएको गाउँपालिकाका पशु शाखा प्रमुख प्रकाशसिंह साउँदले बताए। वडा नम्बर १ मा आठ, २ मा २५ र ४ मा २० पशु चौपायामा यो रोग देखिएको हो। दुई हप्ता अगाडि देखिएको यो रोगबाट  गाई र गोरु बढी सङ्क्रमित भएका छन्। नब्बे प्रतिशत गोरु र १० प्रतिशत गाईमा यो रोग देखिएको छ।

यो रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, र्‍याल र सिँगान काढने, गर्भीणी पशु तुहिने र दुहुनो गाईले दूध कम दिने समस्या देखापर्ने गर्दछ। सङ्क्रमण बढेपछि पशुचौपाया मर्नेसमेत गर्दछन्।

रोग नियन्त्रण बाहिर गइसकेकाले प्राथमिक उपचार सुरु गरिएको प्रमुख साउँदले बताए। यो रोग निको पार्नेसम्बन्धी कुनै सुई छैन। उनले भने, ‘उक्त रोगबाट ग्रसित रहेका पशुका लागि ठोस उपचार छैन, सामान्य एन्टिबायोटिक दिन थालेका छौं,बेटाटिन तथा ड्रेसिङ पनि गर्ने गरेका छौं।’

यो रोग लागिसकेपछि पशु चौपायालाई कम्तीमा २१ दिन क्वारेन्टिनमा राख्नुपर्ने बताइएको छ। सङ्क्रमण बढिरहेको भए पनि हालसम्म पशु भने मरेका छैनन्।

पशुचौपायामा यो रोग फैलिएको बारे पशु सेवा विज्ञ केन्द्र पाटन बैतडी, प्रदेश सरकारलाई पनि जानकारी गराइसकेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए। यो रोगले थप समस्या लिन सक्ने भएकाले नियन्त्रणका लागि पहल थालिएको हो।

लम्पी भाइरल रोग नेपालमा २०७७ सालमा मोरङबाट फैलिएको होे। यसपछि चितवनमा देखापरेको सो रोग बैतडीको शिवनाथमा पनि देखापरेको जनाइएको छ। रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ।

यो रोग झिंगा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा संसर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ। रासस  

प्रकाशित: ६ चैत्र २०७९ ०४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App