८ वैशाख २०८१ शनिबार
समाज

६० वर्ष पुर्‍याइँदै कर्मचारीको अवकाश उमेर

अब निजामती कर्मचारीहरूको अवकाश उमेर ६० वर्ष हुने भएको छ। सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐनको मस्यौदामा कर्मचारीको अवकाश उमेर ६० वर्ष प्रस्ताव गरिएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बताएका छन्।

मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री मोदीले संघीय निजामती सेवा ऐनको मस्यौदामा कर्मचारीको अवकाश उमेर हद ५८ बाट बढाएर ६० वर्ष पुर्‍याउन प्रस्ताव गरिएको जानकारी गराएका हुन्। उनले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत सबै कर्मचारीलाई एउटै वर्गमा राख्न श्रेणीगत प्रणालीलाई हटाएर तहगत प्रणाली कायम गर्न लागिएको जानकारी पनि दिए।

दुर्गम क्षेत्रमा कर्मचारी अभाव हुन नदिन बढुवाका लागि दुर्गम क्षेत्रमा जानैपर्ने प्रावधानलाई पनि व्यवस्थित बनाउन खोजिएको उनले बताए। ‘कर्मचारीहरूमा सकेसम्म दुर्गम क्षेत्रमा नजाने, सुगम क्षेत्रमै बस्ने प्रवृत्ति छ। यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी छ’, उनले भने। संघीय निजामती सेवा ऐनको मस्यौदा संसद्मा लैजाने तयारी भइरहेको उनले बताए।

‘ऐनको मस्यौदालाई अन्तिम रूप दिने काम भइरहेको छ’, उनले भने, ‘ऐनलाई संसद्बाट पास गर्नुपर्ने भएकाले राजनीतिक दलहरूबीच सहमति जुटाउन खोजेका छौं।’ जति सक्दो चाँडो ऐन ल्याउनुपर्छ भन्ने पक्षमा प्रधानमन्त्री पुष्पकमल दाहालले पनि रहेको उनले बताए।

स्थानीय तहमा निमित्त हटाउने प्रक्रिया सुरु गरिएको र केही ठाउँमा निमित्त झिकेर दरबन्दीअनुसार कर्मचारी पठाएको उनले बताए। उनले यसपटक कुनै दबाबमा नपरी कर्मचारीहरूको सरुवा गरिएको दाबी पनि उनले गरे। सरुवा प्रणालीलाई व्यवस्थित गर्ने र सबै कर्मचारीलाई समान व्यववहार गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

प्रकाशित: २५ फाल्गुन २०७९ ००:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App