२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नागरिकलाई सुरक्षित छु भन्ने महसुस गराउँछुः डिएसपी राजन लिम्बू

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक(डिएसपी)राजन लिम्बूले नागरिकलाई सुरक्षित छु भन्ने महसुस गराउने गरी कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रहरीले आम जनतामाझ सहकर्मी र सहयात्रीको रुपमा कार्य सम्पादन गर्ने विश्वास दिलाउँदै डिएसपी लिम्बूले शान्ति सुरक्षाका सवालमा कम्पोरमाईज ’नगर्ने दाबी गरे। 

ताप्लेजुङ प्रहरी प्रमुखको जिम्मेवारी लिएर आएका डिएसपी लिम्बूले बिहीबार यहाँका सञ्चारकर्मीमाझ सामाजिक अपराध न्यूनीकरणका लागि आम नागरिकसँग सहकार्य गर्ने समेत बताए। प्रहरीले नागरिकसँग सहयात्रीको रुपमा भूमिका निर्वाह गर्नुपर्नेमा आफू प्रतिबद्ध रहेको बताउँदै लिम्बूले प्रहरीले कोही कसैसँग दुर्व्यवहार नगर्ने विश्वास दिलाए। प्रहरीको सेवा वितरण चुस्त राख्ने तथा अशक्त,बृद्धबृद्धा र फरक क्षमता भएका नागरिकको विशेष सम्मान गर्दै उनीहरुलाई सेवा वितरण थप सरलीकृत गर्ने योजनामा रहेको लिम्बूले बताए।

‘कुनै पनि नागरिकले प्रहरीबाट पाउनुपर्ने सेवाका लागि बिना झन्झट प्रवेश पाउने र सम्बन्धित फाँटबाट सहज सेवा लिएर फर्कन सक्ने वातावरण बनाउँछु’उनले भने। प्रहरीको कार्य पारदर्शी र सेवाग्राहीमैत्री हुने उनको जोड थियो। प्रहरी पोसाकमा र आम नागरिकको सहज पहुँच हुने क्षेत्रमा बसेर खुलेआम मादक पदार्थ सेवन गर्ने अधिकार प्रहरीमा नरहेको बताउँदै उनले मातहतका प्रहरी कर्मचारीलाई यो बिषयमा निर्देशन समेत दिइसकेको उनले जानकारी गराए। साँघुरो बजार,द्रुत गतिको सवारी र अव्यवस्थित पार्किङ समस्याको रुपमा औँल्याउँदै उनले यसको व्यवस्थापनको सुरुआतका लागि आफ्नो नजर पुगिसकेको सुनाए। 

सुरक्षाका लागि गस्ती बढाउने,अवाञ्छित गतिविधि भएको सूचना पाए लगत्तै थप क्षति हुन नदिने गरी जोखिम नियन्त्रणमा चाँडो भन्दा चाँडो प्रहरी शक्ति पु¥याउने डिएसपी लिम्बूको थप प्रतिबद्धता थियो। लागु औषध दुर्व्यसन विरुद्ध जागरण र प्रतिकार्य दुबै योजना एकसाथ अघि बढाउने योजना सुनाउँदै उनले समग्र जिल्लाको सुरक्षा व्यवस्था सुदृढ बनाउन कार्यालयका प्रहरी निरीक्षक सहित मातहतका प्रहरी कर्मचारीलाई निर्देशन पनि दिएका छन्। ट्राफिक समस्या समाधानका लागि स्थानीय सरोकारवालासँग समन्वयको प्रकृया सुरु गर्ने उनले बताए। 

शान्ति सुरक्षा सबैको चासो र सम्बेदनशिलताको विषय भएको भन्दै उनले सञ्चारकर्मीमार्फत प्रहरी–नागरिक सहकार्यका लागि अपिल समेत गरेका छन्। यसअघिका डिएसपी कैलाश राईको सर्लाही जिल्ला प्रहरी कार्यालय सरुवा भएपछि लिम्बू ताप्लेजुङको प्रहरी प्रमुख भएर आएका हुन्। उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए। 

प्रकाशित: ४ फाल्गुन २०७९ ०८:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App