coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तीन जनस्वास्थ्य निरीक्षकसहित चारको मृत्यु

दैलेखका तीन वटा स्थानीय तहका स्वास्थ्य शाखामा कार्यरत तीन जना स्वास्थ्यकर्मीसहित चार जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ।

दैलेखको गुराँस, डुंगेश्वर र भगवतीमाई गाउँपालिकामा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत तीन जना स्वास्थ्यकर्मीसहित चार जनाको आइतबार वीरेन्द्रनगर–११ स्थित झुप्राखोला नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएको हो।

प्रहरीका अनुसार दैलेखको भगवतीमाई गाउँपालिका–५ का ३१ वर्षीय बवीन शाही, डुङ्गेश्वर गाउँपालिका–३ का ३३ वर्षीय दिपेन्द्रजंग शाही, गुराँस गाउँपालिका–३ का ३६ वर्षीय राजेन्द्र बिसी र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ बस्ने २७ वर्षीय सागर शाहीको मृत्यु भएको हो। दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। गम्भीर घाइते भैरवी गाउँपालिका–५ दैलेखका २६ वर्षीय वीरेन्द्रराज शाहीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ।

मृतक तीन जना दैलेखका तीन वटा गाउँपालिकाका स्वास्थ्य शाखामा कार्यरत कर्मचारी हुन् भने एक जना मेडिकल सामाग्री सप्लायर्स व्यवसायी हुन्।

प्रहरीका अनुसार विसी गुराँस गाउँपालिकाको स्वास्थ्य शाखामा जनस्वास्थ्य निरीक्षकका रुपमा कार्यरत थिए। यस्तै बवीन भगवतीमाई गाउँपालिकामा स्वास्थ्य शाखामा जनस्वास्थ्य निरीक्षकका रुपमा कार्यरत थिए भने दीपेन्द्र डुंगेश्वर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत थिए। मृतक स्वास्थ्यकर्मीहरु वीरेन्द्रनगरमा भइरहेको प्रगती समिक्षा कार्यक्रममा सहभागी हुन पालिकाबाट प्रतिनिधित्व गर्दै आएका थिए।

विसी गत साउनदेखि गुराँस गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत थिए। सबैसंग घुलमिल हुनसक्ने स्वभावका र कामप्रति लगाव राख्ने विसीको निधनले गुरासँमा ठूलो क्षति भएको स्वास्थ्य शाखा प्रमुख निर भण्डारीले बताए। विसीले स्वास्थ्य क्षेत्रमा स्थायी जागिर खाएको ७ वर्ष पुगेको थियो। उनले लकान्द्र र रानीवनमा एक–एक वर्ष अस्थायी जागीरे भएर सेवा दिएका थिए। विसीको ५ वर्षको छोरा, ३ महिनाको छोरी छन्।

भगवतीमाई गाउँपालिकामा कार्यरत बवीन प्रगति समिक्षा कार्यक्रम सकेर सोमबार पालिका फर्कने तयारीमा थिए। शनिबार विदाको दिन भएकाले अन्य साथीहरुसँगै उनीहरु रमाइलो गर्न भेरी किनार नजिकैको सत्तरी गएका थिए। भगवतीमाई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टिकाराम विष्टले सबैले रुचाएको स्वास्थ्यकर्मी गुमाउँदा पालिकालाई ठूलो क्षति भएको बताए। ‘सबैको प्रिय, कामप्रति ईमान्दार, सबैसंग मिलेर काम गर्ने सवैले रुचाएको व्यक्ति गुमाउँदा हामीलाई ठूलो क्षति भएको छ,’ उनले भने।

भगवतीमाई गाउँपालिकाको स्वास्थ्य शाखामा तीन वर्षदेखि कार्यरत बवीनले २०७३ सालदेखि स्वास्थ्यकर्मीका रुपमा स्थायी दरबन्दीमा थिए उनले यही मंसिरमा विवाह गरेको एक वर्ष पुरा भएको छ। उनको श्रीमती पालिकाकै ४ नम्वर वडामा वडा सचिवको रुपमा कार्यरत छिन्।

डुंगेश्वर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत दिपेन्द्र २०७३ मा स्थायी भई डाँडाँपराजुल स्वास्थ्य चौकीमा कार्यरत थिए। उनी २०७६ देखि पालिकाको स्वास्थ्य शाखामा कार्यरत थिए। उनको श्रीमती पनि पालिकाकै स्वास्थ्य चौकीमा अनमी पदमा कार्यरक्त छिन्। उनको एक वर्षमुनिको एक छोरी छिन्।

रत्न राजमार्ग अन्र्तगत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ झुप्राखोला नजिक छिन्चुबाट वीरेन्द्रनगर आउँदै गरेको बागमती प्रदेश ०१०२६ च ९२१३ नम्वरको जीप विहान साढे दुई बजेतिर अनियन्त्रित भएर दुर्घटना हुँदा तीन जना स्वास्थ्यकर्मीसँगै मेडिकल सप्लायर्स व्यवसायी सागर शाहीको पनि मृत्यु भयो।

प्रकाशित: ८ माघ २०७९ १४:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App