१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

आज सोनाम ल्होछार मनाइँदै

तस्बिर: उर्मिला वाइबा तामाङको फेसबूकबाट।

तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।  

ल्होछार अर्थात् ‘ल्हो’ भन्नाले साल अथवा संवत् अनि ‘छार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउँछ । अर्थात्, पुरानो वर्षलाई बिदा गरी नयाँ प्रवेश गर्ने दिन हो। तामाङ समुदायमा यो दिन हर्साेल्लास मनाउँछन्।

ल्होछार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरु बाह्रवटा हुन्छन्। ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ। मुसाबाट शुरु हुने वर्षहरु बँदेल वर्षमा पुगेर सकिन्छ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि मुसा वर्ष पूरा गरी बिरालो वर्ष प्रवेश हुन्छ। यो २८५९औँ सोनाम ल्होछार हो।

मञ्जुश्री पात्रो शुरु भएको २८५९ औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष हुन्छ।

यस अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी मनाइँदै छ। सोनाम ल्होछार महोत्सवका नाममा तामाङ खाना, वेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिने जनाइएको छ। आज दिउँसो टुँडिखेलमा हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको मूल आयोजक समितिले जनाएको छ। यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।

लामाहरुसँग आशिष् लिएर आजको दिन वर्षभरिका लागि शुभ साइतको अपेक्षा राखिन्छ। काठमाडाैंकाे टुँडिखेलबाट -याली र महोत्सव समेत गरिन्छ। महोत्सवमा तामाङ समुदायमा प्रचलित खाना, कला–संस्कृति र भेषभूषाको पनि प्रदर्शन गरिन्छन्। यसरी विभिन्न कार्यक्रम लगायत मेलाहरु आयोजना गरिँदै अनि शुभकामना आदान–प्रदान गर्दै तामाङ समुदायले सयौं वर्ष पुरानो आफ्नो संस्कार अनि पहिचानलाई पुस्तौं पुस्तासम्म सफलतापूर्वक कायम राख्दै आएका छन्।

यस दिन तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्वका साथ ल्होछार मनाउँछन्। यसरी नेपालको पहाडी र उच्च पहाडी भेगमा बसोवास गर्ने तामाङ समुदाय लगायत उत्तर छिमेकी मुलक चीनसहितका बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्छन्।

प्रकाशित: ८ माघ २०७९ ०२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App