१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सर्लाहीका एसपी सुवेदीले पाँच दिनमै १६ तस्करलाई गरे पक्राउ

तस्करीको मामिलामा निकै बदनाम सर्लाही जिल्ला भएर नेपाल भारत सीमा क्षेत्रमा तस्करी गर्नेहरुमा खैलाबैला मच्चिएको छ।  सर्लाही जिल्लाको प्रहरी प्रमुखमा हाजिर हुनासाथ एसपि नरेश राज सुवेदीले तस्करी नियन्त्रण गर्न एक्सन लिएपछि तस्करहरुमा खैलाबैला मच्चिएको हो।  

गत १७ पुसमा जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवामा हाजिर भएका एसपी सुवेदीले पाँच दिनमा १६ तस्करलाई पक्राउ गरी भन्सार कार्यालयमा बुझाएका छन्।  पाँच दिनमै एसपि सुवेदीले १० लाखभन्दा बढीको तस्करीको सामान पनि नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाएका छन्।  

व्यापक तस्करी हुने सर्लाहीका विभिन्न नाकाहरुमा एसपी सुवेदी आफैँ पुगेर युनिट इन्चार्जका साथै प्रहरी कर्मचारीहरुलाई सामानसहित तस्करलाई नियन्त्रणमा लिन थालेका छन्।  तस्करहरु प्रहरीलाई देखेर सामान छाडेर भाग्ने गरेको कारण सधैँ केही सामान पक्राउ पर्ने तर तस्कर भाग्ने प्रवृत्तिलाई निरुत्साहित गर्न एसपि सुवेदीले सामानसँगै तस्करलाई पनि नियन्त्रणमा लिन कडा उर्दी जारी गरेका हुन्।  

एसपि सुवेदीको सक्रियताले सर्लाहीमा पहिलोपटक तस्करलाई पक्राउ गर्दै मुद्दा नै चलाइन थालिएको छ।  

भारतबाट भन्सार छली नेपालतर्फ सामान ल्याउँदै गरेको अवस्थामा प्रहरीले घेरा हाली मलंगवा नगरपालिका ३ का इर्साद महम्मद र ब्रह्मपुरी गाउँपालिका ४ का रुपेश यादवलाई एक लाख तीस हजार रुपैया बराबरको सामानसहित सर्लाही प्रहरीले भन्सारमा विहीवार बुझाएको छ।  

यसै गरी शुक्रबार सर्लाही प्रहरीले तस्करीको सामानसहित आठ भारतीयलाई पक्राउ गरी भन्सार कार्यालय मलंगवामा बुझाएको छ।  पक्राउ पर्नेमा भारत बिहारको सीतामढी जिल्लाको बनौली गाउँका लालबाबु बैठा, शिवम कापड, भुनेश्वर कापड, रन्जितकुमार सुँडी, संजय कापड, पवन कुमार सुडी, राजेश कुमार कापड र रवि बैठा रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  

सर्लाही प्रहरीले नेपाल भारत सीमा तस्करी गर्नेलाई यति धेरै संख्यामा पक्राउ गरेको पहिलोपटक हो।  सर्लाही प्रहरीले तस्करीको सामानसहित तस्करलाई घेरा हाली नियन्त्रणमा लिएर कारबाहीको लागि तुरन्तै भन्सार चलान गर्न थालेपछि नेपाल र भारत दुवैतिरका तस्करहरुमा खैलाबैला मच्चिएको छ।

प्रकाशित: २२ पुस २०७९ १३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App