१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

ऐतिहासिक सहलेस फूलबारी संरक्षणमा सक्रियता

सिरहाको लहान नगरपालिकास्थित ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थल सलहेश फूलबारीको संरक्षण तथा विकासमा जोड दिइएको छ।

पौराणिक कालमा जनताको अत्यधिक सम्मान पाएका लोकनायक उनैको राजा सलहेसको वीरता झल्काउने गरी मुख्य प्रवेशद्वार निर्माण, फूलबारीका वरिपरि घेराबार, पोखरीको संरक्षण, निर्मित संरचनाको मर्मत-सम्भार तथा प्रयोग र अन्य पूर्वाधार निर्माण गरिने भएको छ।

आफ्नो वीरता, पुरुषार्थ र व्यक्तिद्वारा पूजित उनीसँग सम्मिलित यस जिल्लामा ऐतिहासिकस्थल धेरै छन्। बर्सेनि वैशाख १ गते जुड शीतल (सिरुवा पर्व) मा यहाँ ठूलो मेला लाग्ने गर्दछ।

सहलेस फूलबारी जिल्लाको साविक सिस्वानी गाउँ विकास समिति हाल लहान नगरपालिकामा रहेको धार्मिक तथा ऐतिहासिकस्थल हो। लहानको शहीदचोकदेखि चार किलोमिटर पश्चिम पूर्वपश्चिम लोकमार्गदेखि दक्षिणमा झन्डै नौ बिघामा फैलिएको सो फूलबारी दुसाध र दनुवार जातिका इष्टदेवताका रूपमा प्रसिद्ध छ।

सलहेस गाथाअनुसार राजा सलहेसले एकै दिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने तथा कुलदेवीको पूजा गरी कञ्चनगढमा पीरमर्का सुन्थे। हारामको रुख नजिकै सहलेस राजा तथा मालिनीको मन्दिर छ। त्यहाँ गरेको भाकल पूरा हुने जनविश्वास छ।

मधेस प्रदेश पर्यटन विकास कार्यालय लहानका कार्यालय प्रमुख सन्तोषकुमार साह, लहान नगरपालिका नगर प्रमुख महेश चौधरी र वडाध्यक्ष बद्रीनारायण चौधरी लगायतले हालै स्थलगत निरीक्षण गरी यसस्थलको संरक्षणका विभिन्न योजनाको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

धार्मिक पर्यटकका लागि यस फूलबारीलाई सौन्दर्यीकरण गरी आन्तरिक पर्यटक प्रवद्र्धन गर्ने लक्ष्य लिइएको मधेस प्रदेश पर्यटन विकास कार्यालय लहानका कार्यालय प्रमुख साहले बताए। पर्यटन विकास कार्यालय लहानको एक करोड रुपैयाँ बजेटबाट कार्यारम्भ गर्ने निर्णय गरेको नगर प्रमुख चौधरीले बताए। रासस

प्रकाशित: २१ पुस २०७९ ०७:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App