बस्ती स्थानान्तरणको माग गर्दै आन्दोलनरत बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रमा पर्ने दाङका स्थानीयले मतदान बहिष्कार गरेका छन्।
बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत मध्यवर्ती क्षेत्रमा पर्ने बबई गाउँपालिका १ र ७ का दुई मतदान केन्द्रमा अहिलेसम्म एक मत पनि खसेको छैन। यि स्थानका मतदाताहरूले यो निर्वाचनमा मतदान नगर्ने निर्णय नै गरेका छन्। बस्ती स्थानान्तरण संघर्ष समिति निर्माण गरेका यहाँका स्थानीयहरूले आफूहरूको माग पूरा नभएसम्म मतदान नगर्ने एक महिनाअघि नै सामूहिक निर्णय गरेका थिए।
‘हामीहरू वन्यजन्तुबाट धेरै असुरक्षित छौँ, कृषि उत्पादन सबै वन्यजन्तुले सखाप पारिदिने गरेका छन्,’ संघर्ष समितिका अध्यक्ष चन्द्रबहादुर राङु मगरले नागरिकसँग भने, ‘हामीहरूको उचित स्थानान्तरण राज्यले गरिदेओस् भन्ने हाम्रो प्रमुख माग हो, तर यो माग पूरा भएन, फलतः हामीहरू यो चुनावमा सहभागी नहुने निर्णय गरेका हौँ।’
उनका अनुसार बबई १ मा रहेको जनता आवासीय मावि जिला र बबई ७ मा रहेको देउती मावि मलै मतदान केन्द्रमा अहिलेसम्म एक जना मतदाताले पनि मतदान गरेका छैनन्। जनता आवायि मावि मतदान केन्द्रमा ६ सय ८२ र देउती मावि मतदान केन्द्रमा ५ सय ८५ मतदाता छन्।
स्थानीयहरूका अनुसार त्यहाँ बँदेल तथा बाँदरले बालीनाली खाएर सखाप पारिदिने गरेका छन्। यसैघरी बाघको समेत अन्यन्त जगजगीमा त्यहाँका स्थानीय छन्। ‘बाघले धेरै पटक खसी बाख्रा, गाए गोरु गोठमै आएर खाइदिएको छ, मान्छेलाई समेत बाघबाट जोगिन गाह्रो छ, हाम्रो छिमेकी गाउँ घुइयाबारीमा एकजनालाई बाघले आक्रमण गरेर ज्यानै गइसक्यो,’ संघर्ष समितिका अध्यक्ष मगरले भने, ‘बारीमा लगाएको बालीनाली बँदेल र बाँदर लगाएतका वन्यजन्तुले सखाप पारिदिने गरेका छन्, यस्तो सकसमा रहेका हामीहरूको उचित स्थानान्तरणको माग गर्दै आएका छौँ, तर पनि राज्यले हाम्रो माग सुनुवाइ गरेन, हामी यसरी असुरक्षित हुँदा पनि राज्यले हाम्रो सुरक्षाका बारेमा वेवास्ता गरेपछि मतदानमा सहभागी किन हुने भन्ने हामी सबैको सामूहिक निर्णयका आधारमा चुनाव बहिस्कार गरेका हौँ।’
उनीहरूले एक महिना अगाडी कवन मन्त्रालयमा पुगेर समेत बस्ती स्थानान्तणका लागि अनुरोध गरेका थिए। तर चुनाव नजिकिएकाले अहिले बस्ती स्थानान्तरणको प्रकृया सुरु गर्न नसकिने जवाफ वन मन्त्रालयले उनिहरूलाई दिएको थियो। काठमाडौंबाट फर्किए लगत्तै उनिहरूले चुनाव बहिष्कार गर्ने निर्णय लिएका थिए। ‘हामीहरू कतिबेला बाघको आहारा बन्नु पर्ने हो भन्न नसकिने अवस्था छ, हामीले सुरक्षा खोजेका छौँ,’ अर्का स्थानीय मनिष विकले भने, ‘जब राज्यले हाम्रो सुरक्षाको चिन्ता गर्दैन भने हामीले किन यहि सरकारले बनाएको चुनावमा मतदान गर्ने? अहिलेसम्म एक जनाले पनि मतदान गरेको छैन, हामी गर्दैनौँ पनि।’
यो क्षेत्र दाङको पश्चिम दक्षिणी क्षेत्र हो। जिल्लाकै विकट मानिने यो क्षेत्र दाङ क्षेत्र नम्बर ३ मा पर्दछ।
प्रकाशित: २१ फाल्गुन २०८२ १०:२० बिहीबार


-600x400.jpg)
-600x400.jpg)

