मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनमाथि भारतबाट गाडी चोरेर बिर्तामोडमा बेचेको आरोप लगाएका छन्। सोमबार पत्रकार सम्मेलनमा उनले लिङ्देनले राजावादी आन्दोलनमा धोका दिएको कुरा निकालेर गाडी चोरीको व्यापार गरेको दाबी गरेका थिए।
यसैबिच, राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालमा कविता पोस्ट गर्दै अप्रत्यक्ष जवाफ दिएका छन्।
शाहीले लेखेका छन्, ‘जाँदाजाँदै कसैले मलाई धारिलो छुराले रेटेर गयो, तर म चुपचाप हाँसिरहे।’ कुनै बेला राजावादी आन्दोलनमा कमान्डर प्रसाईंले राप्रपाबाट धोका पाएको भन्दै अलग हुने स्पष्ट गरेका छन्।
उनी आफैँ राजनीतिक दल खोलेर मैदानमा उत्रने घोषणा गरिसकेका छन्। जसकारण शाहीको कवितालाई प्रसाईंको आरोपप्रति प्रतीकात्मक जवाफका रूपमा हेरिएको छ।
यस्तो छ उनको कविता
मन्द हावाको गतिमा बग्नेहरू पनि कोही श्वास नै नफेरी हरपल मरिरहे
आफैँभित्रको बन्धक म झ्याल ढोका केही थिएन बिना अक्सिजन नै बाँचिरहे
कसैले जीवन बोझ माने अनि कसैले त्यही जीवन हत्केलामा राखी साँचिरहे
कसैलाई फूल छुँदा छोयो काँडाले चसक्क ऊ चिच्याओस् आइय्या नि मरे
पीडा नै नहुनु अलग कुरा तर दुख कि सुख भन्ने मनसम्मको कुरा न रैछ
जाँदाजाँदै कसैले मलाई धारिलो छुराले रेटेर गयो तर म चुपचाप हाँसिरहे
प्रकाशित: २ भाद्र २०८२ २०:२५ सोमबार



-600x400.jpg)

