२० मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

कर्फ्यू नै लगाउनुपर्ने गरी के भएको थियो सिमरामा ?

महेश बस्नेत र शंकर पोखरेलसहितका एमाले नेता काठमाडौंबाट सिमरा विमानस्थलमा ओर्लने जानकारी पाएर विमानस्थल घेराउन गर्न पुगेका जेन–जी पुस्ताका युवा र नेताको स्वागतमा जम्मा भएका एमाले कार्यकर्ताबीच झडप हुँदा विमानस्थल बन्द गरिएको छ । 

अहिले सिमरा विमानस्थल पूर्णरुपमा बन्द गरी उडन र अवतरण रोकिएको सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले जानकारी दिए ।  

अवस्था नियन्त्रणबाहिर जाने आंकलन गर्दै स्थानीय प्रशासनले बाराको सिमरा विमानस्थल आसपासको क्षेत्रमा दिउँसो साढे १२ बजेदेखि बेलुका ८ बजेसम्मलाई कर्फ्यू आदेश जारी गरिएको भट्टराईले बताए । अहिले अवस्था नियन्त्रणमा आइसकेको उनले बताए ।

झडपका कारण सिमरास्थित विमानस्थलक्षेत्र अझै तनावग्रस्त छ । जेन–जी प्रदर्शनकारीले विमानस्थलको गेट भत्काइदिएका छन्  । स्थिति तनावग्रस्त बनेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको सहायक प्रजिअ भट्टराईले बताए ।  

नेकपा एमालेले बाराको परवानीपुरमा बुधबार मधेस प्रदेशस्तरीय युवा भेला आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा एमाले महासचिव शंकर पोखरेल, एमाले पोलिट्ब्युरो सदस्य तथा युवा संघ इञ्चार्ज महेश बस्नेत सिमरा आउँदै थिए ।

युवा भेला आयोजना गरेको थाहा पाएपछि बाराका केही युवाले कार्यक्रम बिथोल्ने गरी जेनजीको प्रदर्शनका लागि आह्वान गरेका थिए । सोही कारण बुधबार बिहानैदेखि सिमरा क्षेत्रमा युवाहरू जम्मा हुँदै थिए । अर्कोतिर काठमाडौंबाट आउन लागेका पार्टी महासचिव लगायतका नेतालाई स्वागत गर्न एमाले बाराका नेताहरू पनि विमानस्थलतर्फ जाँदै गर्दा बाटोमा दुवै पक्षबीच वादविवाद भएको थियो । विवाद चर्किदै जाँदा  स्थिति तनावग्रस्त भई झडपको रुप लिएको थियो । त्यसपछि आक्रोशित युवाहरू विमानस्थल पुगेर तोडफोड सुरु गरेका थिए ।

काठमाडौंबाट आउने भनिएका नेताहरु उत्तै रोकिएका छन् । एमालेका नेताहरू निवर्तमान सांसदहरू किशान श्रेष्ठ, अच्युत मैनाली, ज्वाला साहलगायतका नेता विमानस्थलभित्रै सुरक्षा घेरा भित्र छन् ।

प्रकाशित: ३ मंसिर २०८२ १५:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App