१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
राजनीति

टोली लिएर गुण्डु पुगेका ईश्वर पोखरेलले ओलीसँग के-के भने ?

नेकपा एमालेको महाधिवेशन नजिकिँदै गर्दा पार्टीकै अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीचको छलफल पनि महत्वपूर्ण हुन थालेको छ। आसन्न पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास गुण्डु पुगेका छन्।

पोखरेलले आफ्नो समूहमा खुलेका उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, सचिव योगेश भट्टराईलगायतका नेतालाई लिएर गुण्डु पुगेका थिए।

अध्यक्ष ओलीसँगको भेटमा पार्टीभित्रको विवाद सुल्झाउने विषयमा कुराकानी भएको छ। प्रतिनिधि छनौटमा भएको विवाद हल गर्ने, महाधिवेशन नजिकिँदै गर्दा पार्टीका कार्यकर्ताबीचको बेमेललाई मिलाउने, महाधिवेशनलाई व्यवस्थित बनाउनेलगायतका विषयमा छलफल भएको वरिष्ठ उपाध्यक्ष पोखरेलले जानकारी दिए।

छलफलमा भएको विषय जानकारी दिँदै पोखरेलले भने, ‘पार्टीभित्र विभिन्न ठाउँमा नेतृत्वले हस्तक्षेप गर्‍यो भन्ने कम्प्लेनलाई हामीले अध्यक्ष ज्युसँग कुराकानी गर्‍यौँ। उहाँले त्यो विषय बुझ्नुपर्छ भन्नुभएको छ।’

नागरिकन्युजसँगको कुराकानीमा पोखरेलले भने, ‘हामीले समग्रमा पार्टीलाई एक ढिक्का बनाउन लाग्नुपर्छ। कार्यकर्ताको मनोभाव अनुसार अघि बढ्नुपर्छ भन्ने विषय नै उठायौँ। यस विषयमा सकारात्मक कुराकानी भएको छ।’

त्यस्तै प्रतिनिधि छनोटका विषयमा विभिन्न जिल्लामा भएका विवादका विषय पोखरेलले ओलीसमक्ष राखेका थिए। भने ताप्लेजुङमा एमाले नेताहरूमाथि भएको कारबाहीको विषय उठाएका थिए।

महाधिवेशन प्रतिनिधि उठ्न खोजेका बलबहादुर साम्सोहाङ र मणिशंकर पोमुलाई कोशी प्रदेश कमिटीले साधारण सदस्यसमेत नरहने गरी पार्टीले कारबाही गरेको छ।

प्रतिनिधि चयनको विषयमा धनकुटा, ओखलढुंगा, बाँके, चितवन, बर्दिया, दाङ, सल्यान र डोटीसहितका जिल्लाका एमाले कार्यकर्ताले गुनासो गरेपछि आफूले अध्यक्ष ओलीसँग यहाँको हल गर्न आग्रह गरेको पनि पोखरेलले नागरिकन्युजलाई बताए।

त्यस्तै पोखरेल समूहले आन्तरिक विवादको हल बैठकबाट खोज्न आग्रह गर्दै तत्काल सचिवालय बैठक बोलाउन आग्रह गरेको छ। पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउनुपर्ने अध्यक्ष ओलीले सचिवालय बैठक बस्ने आश्वासन दिए पनि कहिले बस्ने भन्ने निश्चित मिति निश्चित भएको छैन। पोखरेलले महाधिवेशन अघि नै पार्टीको आन्तरिक विवाद अध्यक्षको पहलमा बैठकबाटै समाधान हुन्छ भन्ने आशा लिएको बताएका छन्।

आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका पोखरेललाई लक्षित गर्दै अध्यक्ष ओलीले नेतृत्वको विषयका अडान छाडेर छलफलमा आउन आग्रह गरेपछि पुगेका पोखरेलले आफ्नो अडान भने यथावत रहेको बताएका छन्।

प्रकाशित: १८ मंसिर २०८२ २०:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App