नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव तथा उपन्यासकार सविन प्रियासनकाे ‘नयाँ लुगा’ लाेकार्पण भएकाे छ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा प्रियासनको १३ औँ कृति लाेकार्पण गरिएको हो।
प्रियासनका यस अगाडि कात्तिकमा कालो मन र असारमा कडी उपन्यास लाेकार्पण भएको छ।
परिषदका अध्यक्ष यम रेग्मीको अध्यक्षता, परिषदका पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनालको प्रमुख आतिथ्य र परिषदकै सल्लाहकार पद्मप्रसाद शर्माको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो।
नेपालकै दोस्रो धेरै उपन्यासकारका रूपमा पहिचान बनाएका प्रियासनको कृतिको विमोचनसँगै विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका दुई युवा प्रतिभालाई पनि सम्मान गरिएको थियो।
त्यसैगरी कार्यक्रममा घोराही बनाऔं अभियानको तर्फबाट सामुदायिक विद्यालयबाट चिकित्सा शिक्षा आयोगले लिएको परीक्षामा उत्तीर्ण हुँदै पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल घोराही–१० का रोशनी घर्ती मगर र राजपुर निवासी बबई गाउँपालिकाको सरस्वती आधारभूत विद्यालय जलजलामा २० वर्षको उमेरमा प्रधानाध्यापक बनेका रक्षाकुमारी यादवलाई योगदानको कदर गर्दै सम्मान गरिएकाे थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले साहित्यको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै अझ राम्रो र उत्कृष्ट रचना ल्याउन सुझाए। उनले पाठकको रोजाइमा पर्न सक्ने पुस्तक ल्यानुपर्ने बताए।
सो अवसरमा बोल्ने वक्ताहरूले प्रियासन लगायतका उपन्यासकारका कारण उपन्यास लेखनमा दाङ बलियो स्थानमा उक्लिएको बताएका थिए।
वक्ताहरूले प्रियासनलाई नेपालकै पहिलो बन्न सुझाव दिँदै खँदिलो, वजिलो विषयवस्तुमा पनि उपन्यास प्रकाशित गर्न अनुरोध गरेका थिए।
सो अवसरमा बोल्दै उपन्यासकार प्रियासनले अबको पाँच वर्षभित्रमा नेपालकै पहिलो धेरै उपन्यास प्रकाशित गर्ने उपन्यासकार बन्ने उद्घोष गरेका थिए।
कार्यक्रममा पुस्तकबारे लेखक सविन प्रियासनले प्रकाश पारेका थिए भने विशिस्ट अतिथि पद्मप्रसाद शर्मा, पत्रकार महासङ्घ दाङका पूर्व अध्यक्ष डा सुदीप गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए।
परिषद्का सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषदका जिल्ला सचिव घनश्याम केसीले गरेका थिए।
प्रकाशित: १९ मंसिर २०८२ ११:०८ शुक्रबार





