२१ मंसिर २०८२ आइतबार
image/svg+xml
राजनीति

ध्वंसात्मक गतिविधि सैह्य हुँदैन, कर्णालीको मुहार हामी फेर्छौं: मुख्यमन्त्री

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने र ध्वंसात्मक गतिविधि गर्ने कार्य राज्यलाई सैह्य नहुने बताएका छन्।

सोमबार कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन्।

समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनप्रति टिप्पणी गर्दै उक्त आन्दोलन परिवर्तनका लागि नभई ध्वंसात्मक गतिविधिमा केन्द्रित भएको जिकिर गरे।

‘जेन–जीको नाममा देशभर एकैदिन सार्वजनिक सम्पत्ति ध्वस्त पार्ने कार्य सैह्य हुँदैन,’ मुख्यमन्त्री कँडेलले भने, ‘यस्ता गतिविधिले समाजलाई सही दिशातर्फ लैजाँदैन।’

मुख्यमन्त्री कँडेलले कर्णालीको मुहार फेर्न प्रदेश सरकार पूर्वाधार विकासमा केन्द्रित रहेको बताए। उनले निर्वाचनका बेला जनतासँग गरिएका वाचाहरू सबै मिलेर पूरा गर्दै जानुपर्नेमा जोड दिए।

‘कर्णालीको मुहार फेर्न कर्णाली करिडोर हुँदै कैलाश मानसरोवर पुग्ने सडक, रारा पुग्नका लागि कालीकोट–मुगु सडक र डोल्पाको सडक बनाउन प्रदेश सरकार लागिपरेको छ,’ उनले भने।

सान्नीत्रिवेणी गाउँपालिका–५ मेहलमुडीमा निर्माण भएको उक्त प्रशासकीय भवन ७ करोड ६१ लाख रुपैयाँको लागतमा सम्पन्न भएको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर बडुवालका अनुसार भवन उद्घाटनसँगै सोमबारदेखि नै नयाँ संरचनाबाट सेवा प्रवाह सुरु गरिएको छ।

कार्यक्रममा जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजितबहादुर शाहीले पालिकाको आफ्नै भवन बनेपछि जनताले गाउँघरमै सिंहदरबार आएको अनुभूति गर्ने गरी सेवा प्रवाह हुनुपर्ने सुझाव दिए।

गाउँपालिका अध्यक्ष महेश केसीले अब आफ्नै भवनबाट सेवा प्रवाह हुने भन्दै विगतमा भवन अभावमा खेप्नुपरेका समस्या अन्त्य भएको र सेवा थप चुस्त तथा सहज हुने विश्वास व्यक्त गरे।

उपाध्यक्ष पार्वती सिंह सञ्ज्यालले नयाँ भवनले सेवा प्रवाहमा सहजता ल्याउने बताइन्।

सोही अवसरमा जेन–जी युवा सुनिल शाहीले मुख्यमन्त्री कँडेललाई ज्ञापनपत्र बुझाएका छन्। उनले ज्ञापनपत्रमार्फत बन्द रहेको पालिका अस्पताल सञ्चालन गर्न तथा शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारको विकास हुन नसकेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: ८ मंसिर २०८२ २१:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App