राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले नेपाल र नेपालीको पहिचान के हुने भन्दै संसदमा प्रश्न गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै शाहीले भने, ‘नेपाली हामी रहौँला कहाँ नेपाल नै नरहे । परिचय हाम्रो रहला कहाँ पहिचान नै नभए ।’
उनले विगतमा भएका दल र अहिले नयाँ उदाएका दलबीच बोर्डमात्र फरक भएको र उत्पतीको नाभी एकै भएको आरोप लगाए । उनले उपसभामुखको उम्मेदवारीका विषयमा भएको भद्र समझदारी नै उल्ट्याइएको र धोका दिएको भन्दै यसले दुई धार छुट्याएको बताए ।
एक थान उपसभामुखको विषयमात्र नभइ देश र पहिचानको विषय भएकाले बहुमत भएको दलले ख्याल गर्नुपर्ने बताएका छन् ।
शाहीले नयाँ र पुराना दलको विचारको नाभी एकै ठाउँमा रहेको जिकिर गरे।
उनले संसदमा सङ्ख्याको हिसाबले कम भएपनि बलियो प्रतिपक्ष आफूहरू मात्रै भएको बताए। उनले उपसभामुखमा रास्वपा सभापति रवि लामिछानेबाट सहयोगको आश्वासन पाएरै उम्मेदवारी दिएको समेत बताए।
उनले भने, ‘सबैभन्दा ठुलो दलबाट नै प्रस्ताव आएपछि अन्य पुराना राजनीतिक दल र हामी परिवर्तन खोज्ने राजनीतिक दल बीचको ध्रुवीकरणको सम्भावनालाई मध्यनजर गर्दै उम्मेदवारी दिने टुङ्गोमा पुगेका थियौँ। यसै सन्दर्भमा हिजो बिहान एकातिर उपसभामुखको निर्वाचन सम्बन्धी छलफलमा अन्य प्रतिपक्षी दलहरूले राप्रपालाई बाइपास गरी छलफल चलाइरहेका थिए भने, अर्कातिर रास्वपा सभापतिबाटै सहयोगको आश्वासन प्राप्त गरेपछि राप्रपा संसदीय दलको सर्वसम्मत निर्णयले हामीले उपसभामुखमा उम्मेदवारी दिएका हौँ।’
आजको उम्मेदवारीले राजनीतिमा स्पष्ट कित्ता क्लियर गरेको समेत बताए।
उनले थपे, ‘हिजोका पुराना भनिएका राजनीतिक दल र अहिले उदाएका नयाँ राजनीतिक दलका साइनबोर्डहरू फरक फरक भए तापनि उनीहरूको बिचको नीतिगत सिद्धान्त र विचारको नाभी एउटै ठाउँमा जोडिएको स्पष्ट भएको छ। यो व्यवस्थाको विकल्पको रूपमा मौलिक व्यवस्था खोजिरहेको र यही आयातित व्यवस्थालाई टालटुल गर्नुपर्ने भन्नेहरू बीचको स्पष्ट कित्ता छुट्टिएको हामीले महसुस गरेका छौँ।’
उनले आफूहरूको उम्मेदवारी उम्मेदवारी केवल एक थान उपसभामुखको पदका लागि मात्र नभएको बताए।
उनले भने, ‘यो त आयातित व्यवस्था मान्नेहरू र विदेशीहरूको गोटी भइरहनेहरूका प्रवृत्तिका विरुद्ध र श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई सिरमा धारण गर्दै राष्ट्र र राष्ट्रियताको रक्षा गर्ने महाअभियान बीचको स्पष्ट भिन्नता छुट्टाउने एउटा ऐतिहासिक परीक्षा थियो। जुन परीक्षामा हामी सहभागी भइरहेका छौँ र हामी सफल पनि भएका छौँ।’
प्रकाशित: २७ चैत्र २०८२ १६:२६ शुक्रबार





