५ चैत्र २०८२ बिहीबार
image/svg+xml
राजनीति

अन्योलको वातावरण चिरेर निर्वाचन सम्पन्न गरायौँः आयुक्त भण्डारी

निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अन्योलबीच पनि स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा निर्वाचन गराउन सफल भएको बताएका छन्। 

फागुन २० गतेसम्म पनि निर्वाचन हुन्छ कि हुन्न भन्ने अन्योलको वातावरण रहेकाकामा त्यसलाई चिरेर निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराएको उनले बताए। 

समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले  निर्वाचन हुनैपर्छ भन्ने आयोगको अठोटका कारण नै सम्भव भएको र यसका लागि सबै राजनीतिक दल, नागरिक समाज एवं प्रबुद्ध व्यक्तित्वबाट सहयोग प्राप्त भएको बताए। 

'विदेशमा बस्ने नेपालीले मतदान गर्न पाउनुपर्छ, मतदाता नामावली भएको क्षेत्रभन्दा बाहिर रहेकाले मतदान गर्न पाउनुपर्छ जस्ता मागका बीच निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योल थियो, अध्यादेशबाट मतदाता नामावली सङ्कलन गरेर करिब १० लाख युवा मतदाता थप भए, युवा मतदाताले पनि यस पटक उत्साहपूर्ण रुपमा मतदान गरे,' उनले भने। 

निर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दलका उम्मेदवारले पनि नआत्तीकन र नमात्तीकन भाग लिएकाले पनि निर्वाचन सम्पन्न हुन सकेको उनको भनाइ छ।

नवनिर्वाचित सांसदहरुलाई निर्वाचन प्रणाली फेर्न हुने गरेका मागलाई सम्बोधन गर्ने गरी अब बस्ने संसद्को अधिवेशनबाटै निर्वाचन कानुन बनाउन माग गरे। आयोगले अढाई वर्षअघि मस्यौदा गरेर पठाएको निर्वाचन कानुन गृह मन्त्रालयमा अलपत्र अवस्थामा रहेकाले अब बस्ने संसद्को अधिवेशनबाटै त्यसलाई पारित गर्ने गरी काम गर्न पनि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले नवनिर्वाचित सांसदहरुको ध्यानाकर्षण गराए। 

'फेरि १४ महिनापछि स्थानीय तहको निर्वाचन गर्नुपर्नेछ, त्यसैले अब बस्ने अधिवेशनबाटै निर्वाचन कानुन पारित गरिनुपर्छ, निर्वाचनसम्बन्धी १० वटा कानुन छ, ती सबैलाई एउटै बनाउने गरी तयार भएको मस्यौदालाई अघि बढाइनुपर्छ, १४ महिनापछि स्थानीय तहको निर्वाचन हुँदा त्यसको छ महिनापछि गर्नुपर्ने प्रदेशसभा सदस्य निर्वाचनलाई पनि एकैपटक गरे मितव्ययी निर्वाचन हुन्छ,' उनले भने। 

प्रकाशित: ५ चैत्र २०८२ १४:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App