नेकपा एमालेका सचिव राजन भट्टराईले लोकतान्त्रिक व्यवस्था आफैँमा पूर्ण व्यवस्था नभएको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै शान्तिपूर्ण बाटोबाट, संविधानको सर्वोच्चता, कानुनी राज, विधिको शासन, आजको एक्काइसौँ शताब्दीको सभ्य समाजले रोजेको व्यवस्थाको पक्षमा रहेको बताए।
उनले भने, ‘हामीलाई थाहा छ लोकतान्त्रिक व्यवस्था आफैँमा पूर्ण व्यवस्था होइन। भएका मध्ये राम्रो व्यवस्था हो तर यो आफैँमा पूर्ण रूपले राम्रो व्यवस्था होइन। हामीले लडेर रोजेर ल्याएको हो। यो रोजेर ल्याएको यही व्यवस्थाका माध्यमबाट शान्तिपूर्ण बाटोबाट जाँदा सरकार परिवर्तन पनि गर्न सकिन्छ, रोजेको नेता प्रधानमन्त्री बनाउन पाइन्छ, रोजेको नेता राष्ट्रपति बनाउन पाइन्छ, नागरिकको सर्वोच्चता, कानुनी राज्यका माध्यमबाट शासन र विधि चलाइन्छ।’
उनले लोकतान्त्रिक व्यवस्थामा कानुनका अगाडि सबै बराबर हुने बताए। आफूहरूले मुलुकलाई समृद्ध नेपाल, सुखी नेपालीको बाटोमा लिएर जान चाहेका बताए।
उनले थपे, ‘एक्काइसौँ शताब्दीको तेस्रो दशकमा आइरहँदा पनि तोडफोडबाट, हिंसाबाट, आगजनीबाट सत्ता परिवर्तन गर्ने र त्यो खरानी माथि उभिएर देशको नाममा शासन व्यवस्थामा पुग्न खोजिरहेका तत्त्वहरूका बारेमा हामीले बुझ्नुपर्छ। यो कुरा विवेकी मतदाताले बुझ्न सकेनौँ भने हामीले नचाहँदा नचाहँदै यो मुलुक युक्रेनको बाटो समाउन सक्छ।’
प्रकाशित: १७ माघ २०८२ १५:३५ शनिबार





