२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

तारन्तारको चुनावी प्रश्नबाट मतदाता आजित

तस्बिर : एआईको सहयोगमा

प्रश्नकर्ता सोध्छन्, ‘फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा सिरहा–४ मा कुन उम्मेदवारलाई जिताएर पठाउँदै हुनुहुन्छ ? कुन चुनाव चिह्नमा मतदान गर्दै हुनुहुन्छ ?’ मतदाताको उत्तर हुन्छ, ‘म अहिलेसम्म निर्णयमा पुगिसकेको छैन। सोचविचार गरेर मत खसाल्छु।’ प्रश्नकर्ता फेरि सोध्छन्, ‘होइन, यो क्षेत्रमा गरेको विकासको हिसाब गरेर भन्नुस् न, कुन उम्मेदवारलाई जिताएर पठाउँदै हुनुहुन्छ ?’ मतदाता भन्छन्, ‘म वैदेशिक रोजगारीमा थिएँ। मलाई थाहा छैन, कसले के विकास गरेको छ वा छैन।’

प्रश्नकर्ता अर्का मतदातालाई पनि सोध्छन्, ‘चुनाव त आइसक्यो, कुन उम्मेदवारलाई मतदान गर्दै हुनुहुन्छ ?’ ती मतदाता रुष्ट हुँदै भन्छन्, ‘उम्मेदवारहरू चुनाव आएपछि मात्र भेट गर्न आउँछन्। जितेर गएपछि फर्केरै आउँदैनन्। जनता मरुन् कि बाँचुन्, कुनै मतलब राख्दैनन्। प्रश्नकर्ता फेरि सोध्छन्, ‘भोट त दिनैपर्छ नि, कसलाई दिनुहुन्छ भन्नुस् न ?’ मतदाता झोक्किन्छन्, ‘तपाईं जिद्दी नै गर्नुहुन्छ भने ल भनिदिन्छु, ... छापमा। त्यसपछि पनि प्रतिप्रश्न गरिन्छ, ‘भोट दिनुको आधार के त ?’ जवाफमा मतदाता पनि रिसाउँदै भन्छन्, ‘उनलाई भोट हाले तपाईं मुद्दा गर्नुहुन्छ ?’ यति भनेपछि प्रश्नकर्ताले उनीसँगको संवाद टुंग्याएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा देखिन्छ, सुनिन्छ।

सिरहा–२ को हुलाकी सडकछाउ आफ्नै धुनमा काम गरिरहेका किसानमाझ पुगेका एक भिडियो अनलाइनकर्मीले मुख अगाडि बुम तेर्स्याउँदै प्रश्न गरे, ‘यसपालि कुन छापमा भोट हान्नुहुन्छ ?’ मतदाता किसानले भने, ‘अहिलेसम्म कुनै उम्मेदवार मत माग्न आइनपुगेकाले उम्मेदवार र छापबारे निर्णयमा पुगिसकेको छैन। प्रश्नकर्ता उत्तर दिलाउन जोड गरे, ‘तब पनि भन्नुस् न, कुन छापमा मोहर लगाउनुहुन्छ ?’ मतदाता किसानले पनि सोही ढंगले उत्तर दिए, ‘अहिलेसम्म कसैले भोट मागेकै छैन भने कसरी भनिदिऊँ कि यो छापमा मोहर लगाउँछु।’ यस्तो जवाफ सुनेपछि पनि प्रश्नकर्ताले विगतमा कसलाई मतदान गरेकोलगायत प्रश्न गर्दै संवाद टुंग्याएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा देख्न र सुन्न सकिन्छ।

सिरहा–२ र ४ का मतदातासँग सिरहाकै केही अनलाइन र युट्युबकर्मीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका यस्ता भिडियो अरू पनि धेरै छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिएसँगै सिरहा मात्र नभई मधेस प्रदेशभरि सामाजिक सञ्जाल, स्थानीय अनलाइन, युट्युबहरूमा मतदाताको गोप्य मतदान गर्ने अधिकार छताछुल्ल पार्ने प्रयास गरिएको छ। निर्वाचन आयोगदेखि जिल्ला प्रशासन कार्यालयसम्मले फेसबुक, युट्युबलगायत सामाजिक सञ्जालबाट ‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ ?’ भनेर प्रश्न सोधी मतदाताको गोपनीयता भंग नगर्न भनेर आग्रह गरेको गर्‍यै छन् तर उल्लंघनका घटना रोकिनुको साटो झन्झन् बढिरहेका छन्। सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निर्वाचन आचारसंहिता अनुगमन समिति नै बनाइएको छ। तर त्यस्ता समितिहरू आचारसंहिता उल्लंघनकर्ताहरूलाई निरीह दर्शक बनेर हेरिरहेका छन्। त्यसकारण आचारसंहिता उल्लंघनको क्रम दिनदिनै बढ्दो छ।

स्थानीय अनलाइन र युट्युबलगायत सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदाताहरूसँग कुन दल, उम्मेदवार र निर्वाचन चिह्नमा मतदान गर्नुहुन्छ भन्ने प्रश्न गरी मतदाताको गोपनीयता भंग गर्ने कार्य भइरहेकोबारे सिरहाका प्रजिअ सुरेन्द्र पौडेलले अनभिज्ञता प्रकट गरे। उनले नागरिकसँग भने, ‘हामीले सार्वजनिक सूचना नै जारी गरेर कानुनविपरीत कार्य नगर्न भनिसकेका छौँ। यति गर्दा पनि निर्वाचन आचारसंहिताविपरीत काम गरेको पाइए कानुनबमोजिम कारबाही हुन्छ।’

धनुषाका प्रजिअ प्रेमप्रसाद लुइँटेलका अनुसार निर्वाचन आचारसंहिताविपरीत कार्य गर्नेहरूको लिस्ट तयार पारी निर्वाचन आयोगदेखि कारबाही गर्ने अन्य निकायहरूमा पठाउने काम भइरहेको छ। ‘निर्वाचन आयोगले नै सहायक प्रजिअलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको छ। उहाँको जानकारीमा आएजति सबैको लिस्टिङ गर्ने र स्पष्टीकरण सोध्ने काम सुरु भइसकेको छ,’ उनले भने।

जिल्ला प्रशासन कार्यालय सप्तरीले सामाजिक सञ्जाल, अनलाइन, युट्युबलगायत माध्यमबाट ‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भनेर प्रश्न नसोध्न भन्दै अपिल जारी गरेको जनाएको छ। त्यसरी मतदाताको गोपनीयता भंग गर्ने र गराउने कार्य निर्वाचन आचारसंहिता २०८२ को दफा ४ (द) बमोजिम आचारसंहिता उल्लंघन हुने समेत प्रशासनले स्पष्ट पारेको छ। कसैले अटेर गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रशासनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

सामाजिक सञ्जालको दुरुपयोग ! 
प्रतिस्पर्धा कडा हुने क्षेत्रमा उम्मेदवारहरू आम मतदाताको लहर आफ्नो पक्षमा पार्न सामाजिक सञ्जालको प्रयोगलाई हतियारका रूपमा प्रयोग गर्ने क्रम यसपालिको निर्वाचनमा बढ्दो छ। उम्मेदवारहरूले ‘फिजिकल’भन्दा पनि ‘डिजिटल’ प्रचारबाजीमा जोड दिएको पाइएको छ। डिजिटल प्रचारबाजी त्यसमा पनि मतदातालाई आफूअनुकूल बोल्न लगाएर भिडियो सामाजिक सञ्जालमा बुस्ट गरेपछि आफ्नो पक्षमा लहर ल्याउने उद्देश्यले उम्मेदवारहरू यस कार्यलाई तीव्रता दिइरहेका छन्। यस कामका लागि कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरूहरूले उम्मेदवारसँग भिडियो बनाउने ठेक्का नै लिएको पाइएको छ। ‘म तपाईंको पक्षका मतदाताको भिडियो फैलाइदिन्छु’ भन्दै उम्मेदवारहरुसँग ‘डिल’ गर्नेहरूको पनि लर्को छ। उम्मेदवारहरूले पनि फिजिकलभन्दा डिजिटल माध्यम मतदाताको मनोविज्ञान प्रभावित गर्न सकिने भन्दै यस कार्यलाई प्रोत्साहन गरिरहेका छन्।

सिरहाका प्रजिअ लुइँटेल भन्छन्, ‘अहिले सामाजिक सञ्जाल, स्थानीय अनलाइन, युट्युबमा भइरहेको आचारसंहिता उल्लंघनका गतिविधि नियन्त्रण चुनौतीपूर्ण बनेको छ। कतिपय जानकारी त हामीसँग आउँदै आउँदैन, आएकालाई त नियन्त्रणको प्रयास गरिरहेका छौँ।’ आचारसंहिता भनेको एक किसिमको कानुन नै हो, यसको उल्लंघन गर्नु दण्डनीय हुन्छ। इलाका प्रहरी कार्यालय लहानका प्रमुख रहेका डिएसपी कैलाश राईले भने, ‘आचारसंहिताविपरीत कार्य गर्नेलाई पहिलो पटकका लागि बोलाएरै सचेत गराउँछौँ। फेरि पनि नमाने कानुनबमोजिम कारबाही अघि बढाइन्छ।’

प्रकाशित: २० माघ २०८२ ११:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App