निर्वाचन आयोगले मतदाता नामावली संकलनको अवधि पाँच दिन थप गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीको आग्रहमा शुक्रबार आयोगले मतदाता नामावली संकलन कार्य पाँच दिन थप गरेको हो। अब मंसिर पाँच गतेसम्म मतदाता नामावली संकलन कार्य सुचारू रहनेछ।
यसअघि सरकारले फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेसँगै आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्न सकिने समयावधि तोकेको थियो।
यो समयमा न्युन संख्यामा मात्रै मतदाता नामावली संकलन भएको र प्राविधिक रूपमा पनि विभिन्न कठिनाई देखिएका थिए।
त्यसपछि शुक्रबार मात्रै प्रधानमन्त्री कार्कीले आयोगसँग थप समयका लागि आग्रह गरेकी थिइन्। जसअनुसार आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले म्याद थपको जानकारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
थपिएको समयमा बिदाका दिन पनि निर्वाचन कार्यालयहरू खुला रहनेछन्। यस्तै इन्टरनेट र अन्य प्राविधिक समस्या आएमा समाधानका लागि २४ सैँ घण्टा प्राविधिक जनशक्ति खटाइएको आयोगले जनाएको छ।
शुक्रबार सार्वजनिक भएको भिडियोमा प्रधानमन्त्री काकीले यो निर्वाचनमा राष्ट्रिय परिचयपत्रको प्रयोग भएको उल्लेख गर्दै यसले सरल बनाएकाले भीड बढाएको बताइन् । मतादाता नामावलीमा नाम दर्ता गर्न जेनजी पुस्ता आकर्षित भएको बताउँदै उनले फागुन २१ को निर्वाचनमा सहभागी हुन अपिल गरिन्।
प्रधानमन्त्री कार्कीले निर्धक्क भएर निर्वाचनमा सहभागी हुन सबैलाई आग्रह गर्दै वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताइन्। उनले भागेका कैदी र लुटिएका हतियारको खोजी भइरहेको जानकारी दिइन् ।
प्रकाशित: २८ कार्तिक २०८२ १८:५८ शुक्रबार





