पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग–व्यवसायीलगायत सबै क्षेत्रमा महिलाको समान सहभागिता नभएसम्म समृद्ध नेपाल बनाउन नसकिने धारणा व्यक्त गरेकी छन् ।
उनले उद्योग, वाणिज्य, शिक्षा, स्वास्थ्य र राजनीतिमा महिलालाई अवसर प्रदान नगरेसम्म समृद्ध नेपालको सपना साकार हुनै नसक्ने विचार व्यक्त गरेकी हुन् ।
‘नारी: शक्ति, समर्पण र सम्मान’ भन्ने मुख्य नारासहित वीरगञ्ज उद्योग वाणिज्य संघले शनिबार वीरगञ्जमा आयोजना गरेको ‘बृहत महिला सम्मेलन २०८२’ को उद्घाटन गर्दै पूर्वराष्ट्रपति भण्डारीले अवसरबाट वञ्चित पारिएका महिलालाई निर्णय तहसम्म पुग्ने वातावरण बनाएपछि मात्र मुलुक दिगो समृद्धितर्फ उन्मुख हुने धारणा राखिन् ।
उनले मुलुकमा बढ्दै गएको परनिर्भरतालाई कम गर्न स्थानीय उत्पादनमा जोड दिनुका साथै स्वदेशी उत्पादनको उपभोगमा सबैले जोड दिनुपर्ने बताइन् । साथै उद्यमशील महिलालाई सरकारले प्रोत्साहित गर्न आवश्यक रहेको पनि उनको भनाइ थियो ।
.jpg)
वीरगञ्ज उद्योग वाणिज्य संघकी महिला उद्यमशीलता समितिकी अध्यक्ष एवम् कार्यक्रम संयोजक डा.लक्ष्मी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले चुरे क्षेत्रको अत्यधिक दोहनका कारण अहिले तराई–मधेसका जिल्लामा जलसंकट देखा परेको ठोकुवा गरिन् ।
लामो समयदेखि चुरे क्षेत्रका प्राकृतिक स्रोतको दोहनका कारण तराइका जिल्ला मरुभूमिमा रुपान्तरण हुँदै गएको र सर्वसाधारणलाई खानेपानी तथा किसानलाई कृषि प्रयोजनका लागि पानी अभाव भएको उनले स्पष्ट पारिन् ।
तराईमा देखिएको जलसंकटलाई सरकारले गम्भीरतापूर्वक लिएर चुरेको संरक्षणमा लाग्नुपर्ने सुझाव पनि पूर्वराष्ट्रपति भण्डारीले दिइन् ।
.jpg)
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष जोस्ना श्रेष्ठले राज्यको नीतिनियमदेखि कार्यान्वयन तहसम्म महिलाको सहभागिता भए मुलुकमा आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गरिन् । उनले महिला उद्यमी भए परनिर्भरता घट्दै जाने भएकाले उद्यममा लागेका महिलालाई सरकारले आफ्ना नीति तथा कार्यक्रममा प्रोत्साहित गर्नुपर्नेमा जोड दिइन् ।
त्यस्तै, कार्यक्रममा सहभागी वरिष्ठ सौन्दर्यकर्मी कमला श्रेष्ठ, उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमलगायतका वक्ताले महिला र पुरुषको समन्वयले मात्र सबै क्षेत्रमा उन्नति र प्रगति सम्भव हुने धारणा व्यक्त गरेका थिए।
प्रकाशित: १४ भाद्र २०८२ १६:३३ शनिबार





