कोशी प्रदेश सरकारले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७९’ लाई संशोधन गर्ने भएको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित सो ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री तथा सरकारका प्रवक्ता इन्द्रमणि पराजुलीले उक्त विधेयकलाई प्रदेश सभामा लैजान स्वीकृत दिनेसहित विभिन्न चारवटा निर्णय गरिएको जानकारी दिए। बैठकले कानुन, न्याय तथा प्रदेश मामिला समितिबाटै परिमार्जित ‘कोशी प्रदेश निजी तथा साझेदारी फर्म दर्ता (दोस्रो संशोधन) नियमावली, २०८२’ लाई समेत स्वीकृत गरेको छ।
यसैगरी, आर्थिक, सामाजिक तथा पूर्वाधार समितिबाट परिमार्जित‘ आयोजना छनोट तथा वर्गीकरण र आयोजना बैंक व्यवस्थापन सम्बन्धी कार्यविधि, २०८२’ लाई पनि बैठकले स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले हङकङमा रहेका गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् र नेपाली महिला संघको संयुक्त आयोजनामा आगामी २९ मार्च २०२६ मा आयोजना हुने ११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रममा सहभागी हुन भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङको भ्रमणलाई पनि स्वीकृति दिने निर्णय गरेको छ।
प्रकाशित: २ चैत्र २०८२ १७:५१ सोमबार





