आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचार प्रसारलाई लक्षित गरी नेकपा एमालेले बुधबार झापाको कमल गाउँपालिकामा युवाहरूको मार्च पास प्रदर्शन गरेको छ।
क्षेत्र नं. ५ अन्तर्गत पर्ने कमलका दुई अलग स्थानबाट एमालेको मार्चपास सुरु भएको थियो। साविक लखनपुर खण्डका ५, ६ र ७ का युवाहरूले लखनपुर चोकदेखि पाडाजुङ्गीसम्म एमालेको पक्षमा प्रदर्शन गरेका थिए। यस्तै साविक तोपगाछी खण्डका युवाहरूले केराधाप चोकदेखि केर्खासम्म मार्च पास गरेको एमाले गाउँ कमिटी अध्यक्ष हरी ढकालले जानकारी दिए। नाचगान, झण्डा र नारासहितको र्याली समापनका क्रममा दुवै स्थानमा अलग-अलग नेताहरूले संवोधन गरी आगामी निर्वाचनबाट एमालेको बहुमत आउने दाबी गरेका थिए।
मार्चपासपछि पाडाजुङ्गीमा आयोजित कोणसभामा एमाले केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्रका परिचालन समिति संयोजक देवेन्द्र दाहालले यो क्षेत्रको मात्र नभइ समग्र देशलाई नै विकासको नेतृत्व दिने पार्टी नेकपा एमाले मात्र भएको बताए। उनले आगामी निर्वाचनले राष्ट्रवादी कित्ता र राष्ट्रविरोधी कित्ताको टुंगो लगाउने भन्दै राष्ट्रवादी कित्ताको नेतृत्व एमालेले गरी रहेको धारणा राखे।
यस्तै, मार्चपासपछि केर्खा बजारमा आयोजित कोणसभामा एमाले जिल्ला उपाध्यक्ष शिव ढुङ्गेलले एमालेले मात्र यो देश र जनताको विकास गर्न सक्ने बताए। युवाहरूलाई भ्रममा पारेर केही तत्वले देश र जनताका बिचमा दुष्प्रचार गरिरहेको भन्दै उनले दुष्प्रचार र कुप्रसारका विरुद्ध जनता जागिसकेको तर्क गरे।
झापा क्षेत्र नंं ५ मा नेकपा एमालेका पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उम्मेदवार रहेका छन्। यस क्षेत्रमा एमालेले प्रत्येक वडा र टोल स्तरसम्म निर्वाचन परिचालन, प्रचारप्रसार लगायतका समितिहरू बनाइ मतदातासँगको भेटघाट सघन बनाएको छ।
यस्तै, महिला, युवा, विद्यार्थी, किसान, मजदुर, बुद्धिजिवी लगायतका अलग-अलग क्लष्टर समेत निर्वाचन परिचालनमा खटिएको पार्टीका केन्द्रीय सदस्य एवं निर्वाचन प्रचारप्रसार उपसमितिका संयाजक इन्द्र भण्डारीले जानकारी दिए।
प्रकाशित: ६ फाल्गुन २०८२ १३:१९ बुधबार


-600x400-wm.jpg)


