२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

विकासमा राजनीति हुँदैन, कांग्रेस-एमाले हिँड्ने बाटो पनि रास्वपाले बनाउँछ: बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले अबको विकास निर्माणमा राजनीतिक पूर्वाग्रह र भेदभाव अन्त्य हुने बताएका छन्।

सुदूरपश्चिमको धनगढीमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले रास्वपाले कुनै निश्चित दलका कार्यकर्ताका लागि मात्र नभई सबै नेपालीका लागि काम गर्ने बताएका हुन्।

नेता शाहले विगतका राजनीतिक दलहरूले आफ्नो भोट नभएको क्षेत्रमा विकास नगर्ने प्रवृत्ति देखाएको आरोप लगाए।

उनले भने, ‘विगतमा यो क्षेत्रमा मेरो भोट छैन, यहाँ किन बाटो बनाउने भन्ने मानसिकता थियो। तर राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा गएपछि कांग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ र माओवादी (हाल नेकपा) हिँड्ने बाटो पनि बनाउँछ।’

रास्वपाले बनाउने पूर्वाधारबाट सबै दलका समर्थक र आम नेपाली जनता लाभान्वित हुने उनले सुनाए। ‘हामी सबै नेपाली जनता हिँड्ने साझा बाटो बनाउँछौं, जहाँ कुनै राजनीतिक विभेद हुनेछैन,’ उनले थपे।

वर्षौँदेखि अलपत्र परेका विकास योजनाहरूबारे बोल्दै उनले भने, ‘दुई वर्षमा बन्नुपर्ने बाटो २० वर्षसम्म पनि नबन्ने अवस्था अब चल्दैन। हामी डेढ वर्षमै काम सम्पन्न गर्ने पद्धति बसाल्छौं।’

उनले रास्वपा केवल भोट माग्न मात्र नभई कामको जिम्मेवारी लिन आएको बताउँदै जनतासँग कामको सूची समेत मागेका छन्।

भोट दिए पनि वा नदिए पनि सुदूरपश्चिमको विकास र समृद्धिका लागि रास्वपा प्रतिवद्ध रहेको उनको भनाइ थियो।

सभामा उनले शिक्षा र स्वास्थ्यलाई व्यापार नभई सेवाका रूपमा स्थापित गर्ने र खल्तीमा पैसा नहुनेले पनि उपचार पाउने सुनिश्चित गर्ने प्रतिवद्धता समेत दोहोर्‍याए।

प्रकाशित: ६ फाल्गुन २०८२ १५:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App