काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलमा नेकपा एमालेका कार्यकर्ताले विद्यालय पोसाकमै रहेका विद्यार्थीमाथि कुटपिट गरेका छन्।
सोमबार सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा एमालेको झन्डा बोकेका कार्यकर्ताको समूहले पसलभित्रै पसेर विद्यार्थीहरूलाई कुटपिट गरेको देखिन्छ।
घटना अत्तरखेलस्थित केक कर्नर एण्ड बेकरीमा भएको हो। प्रत्यक्षदर्शी तथा स्थानीयका अनुसार विद्यालयको पोसाकमा रहेका विद्यार्थीहरू पसलमा चिया खाइरहेका थिए।
सोही समयमा एमालेको र्याली बाटोमा हिँडिरहेको थियो। विद्यार्थीहरूले र्यालीलाई देखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिन्ह समेत रहेको ‘घण्टी’ बजाउँदै जिस्क्याएको निहुँमा एमाले कार्यकर्ताहरू आक्रामक बनेका थिए।
एक स्थानीयका अनुसार विद्यार्थीहरूले र्यालीलाई लक्षित गर्दै घण्टी बजाएपछि विवाद सुरु भएको थियो।
उनले भने, ‘विद्यार्थीहरूले घण्टी बजाएपछि र्यालीमा रहेका कार्यकर्ताहरू रिसाए र पसलभित्रै पसेर विद्यार्थीमाथि हातपात गरे। उनीहरूले विद्यार्थीलाई २-४ झापड हानेका थिए।’
उनका अनुसार कुटपिटमा पर्ने विद्यार्थीहरू नजिकैको ‘इस्ट पोल स्कुल’ मा कक्षा १० मा अध्ययनरत हुन्।
‘उनीहरू ५/६ जनाको समूहमा चिया खाँदै थिए। एक्कासि एमालेको र्यालीबा हुल आयो र भित्र पसेर कुटपिट गर्न थाले।’ ती स्थानीयले भने।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले पनि चासो देखाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईले घटनाबारे जानकारी आएको र सत्यतथ्य बुझ्ने काम भइरहेको बताए।
एसपी भट्टराईले नागरिक न्युजसँग भने, ‘गोकर्णेश्वरको घण्टी वाला भिडियो सामाजिक सञ्जालमा आएको मेरो जानकारीमा छ। तर, घटनाको यथार्थ विवरण र कस्तो परिवेशमा यो भएको हो भन्नेबारे हामी भेरिफाई गर्दैछौं। अहिलेसम्म आधिकारिक रूपमा यस्तै भएको हो भनेर भन्न सक्ने स्थिति छैन, अनुसन्धान भइरहेको छ।’
सामाजिक सञ्जालमा भने बालबालिकामाथि राजनीतिक दलका कार्यकर्ताले गरेको यो व्यवहारको चौतर्फी आलोचना भइरहेको छ।
प्रकाशित: ११ फाल्गुन २०८२ १७:२० सोमबार





