३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

मौरी चराउने पशुपति: चितवनको शक्तिखोरबाट रोल्पा, प्युठान र बर्दघाट हुँदै पुगे कपिलवस्तु

शक्तिखोर, चितवनका ५० वर्षीय पशुपति बुढाथोकी मौरी चराउन कपिलवस्तु आएका छन्। १७ वर्षअघि जापान जाने सोच त्यागेर मौरीपालन रोजेका उनी विगत १६ वर्षदेखि व्यावसायिक रूपमा यस क्षेत्रमा सक्रिय छन्। रोल्पा, प्युठान र बर्दघाट हुँदै अहिले कपिलवस्तु आइपुगेका हुन्।

एक महिनादेखि तौलिहवा–भैरहवा सडक खण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका–७ धरमनिया चोक नजिकै तोरी खेतमा मौरी चराइरहेका छन्। यस क्षेत्रमा मौरीका लागि प्रशस्त चरन क्षेत्र भएकाले यहाँ आएको बताउँछन्।

२० घारबाट सुरु गरेको व्यवसाय अहिले १ सय ५० भन्दा बढी घारमा विस्तार भएको छ। एक घार १२ देखि १५ हजार रुपैयाँमा खरिद गरेका थिए। चरन र मौसमअनुसार घार सार्दै मह उत्पादन गर्दै राम्रो आम्दानी गरिरहेका छन्। मौरीको परागसेचनबाट बाली उत्पादनमा सघाउ पुग्ने भएकाले कृषकहरूले पनि सहयोग गर्ने गरेका छन्।

मौसम अनुकूल भए २० देखि ३० दिनमै मह निकाल्न सकिन्छ। एक पटकमा २.५ देखि ५ क्विन्टलसम्म मह उत्पादन हुन्छ। वार्षिक रूपमा मह बिक्रीबाट १५ लाख रुपैयाँभन्दा बढी कारोबार हुने र त्यसबाट १० देखि १२ लाख रुपैयाँसम्म बचत हुने बताउँछन्।

मिलिफेरा जातको मौरीपालन गरिरहेका बुढाथोकीले भारतीय तथा नक्कली महका कारण स्वदेशी उत्पादनले उचित बजार र मूल्य नपाएको गुनासो गरेका छन्। भारतबाट मह आयात खुकुलो हुँदा स्वदेशी मौरीपालक मारमा परेको उल्लेख गर्छन्। एक घारबाट वार्षिक ५० किलोग्रामसम्म मह उत्पादन हुने र प्रति पटक ८ देखि १० किलोसम्म मह निकाल्ने गरेको अनुभव छ।

भारतीय महका कारण ३ सयदेखि ४ सय रुपैयाँ प्रतिकिलोमा मह बेच्न बाध्य हुनुपरेको उनी बताउँछन्। आयातित महसँग प्रतिस्पर्धा बढ्दा बिक्री वितरणमा समस्या आएको छ।

स्वदेशमै सम्भावना देखेर निरन्तर व्यवसायमा लागिरहनु नै सफलताको आधार भएको उनको अनुभव छ। तोरी, फापर, रुदिलो, सिसौ लगायतका फूल मौरीका लागि आवश्यक आहार हुन्। यी वनस्पति प्रशस्त पाइने भएकाले जिल्लाका विभिन्न स्थानमा मौरी चराउन कृषक आकर्षित भएका छन्।

प्रकाशित: ११ फाल्गुन २०८२ १७:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App