८ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

एकता टिकाउन नसक्नु ओलीको कमजोरी: उपाध्यक्ष पाण्डे

<br>

नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यकाल र उनको नेतृत्वको विषयमा समीक्षा गरेका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै उपाध्यक्ष पाण्डेले अध्यक्ष ओलीले संविधान निर्माण र राष्ट्रिय स्वाधीनताका पक्षमा लिएको अडानको प्रशंसा गर्दै अबको गन्तव्य भनेको लोकतान्त्रिक विधिबाट नेतृत्व हस्तान्तरण नै भएको सङ्केत गरे।

पाण्डेले अध्यक्ष ओलीको अघिल्लो कार्यकाललाई निष्पक्ष रूपमा मूल्याङ्कन गर्नुपर्ने बताए। ‘उहाँले अघिल्लो कार्यकालमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुभयो। संविधान जारी गर्ने बेलामा उहाँले लिएको अडान र राष्ट्रको पक्षमा लिएको अडानका लागि उहाँलाई धन्यवाद र बधाई दिनैपर्छ,’ पाण्डेले भने, ‘त्यसबेलाको चुनावमा एमालेलाई पहिलो शक्ति बनाउन उहाँको भूमिका महत्त्वपूर्ण थियो।’

‘एकता टिकाउन नसक्नु कमजोरी’

तर, पार्टीभित्रको एकता जोगाउन र संसद विघटन जस्ता निर्णयले पार्टीलाई क्षति पुर्याएको विषयमा पनि उनले समीक्षा गरे।

‘पार्टीभित्रको एकता टिक्न सकेन, संसद विघटन भयो। १२१ सिट ल्याएको एमाले र ५३ सिट ल्याएको माओवादी मिलेर १७४ सिटको शक्ति भइसकेका थियौं, तर झरेर ७८ मा पुग्यौँ,’ उनले भने, ‘यो उकालो र ओरालो दुवै ग्राफ हेर्दा अध्यक्षको मूल्याङ्कन त्यहीँ भइहाल्यो नि। यसबाट पाठ सिक्नुपर्छ।’

एमालेका धेरै नेताहरू उमेरका कारणले पनि एउटा विन्दुमा पुगेको र सधैँ नेतृत्वमा रहन नसकिने यथार्थ उनले स्वीकार गरे।

‘हामीलाई थाहा छ नि, हामी त उमेरले एउटा ठाउँमा पुग्यौँ। हाम्रो अध्यक्ष (केपी शर्मा ओली) एउटा ठाउँमा पुग्नुभएको छ,’ पाण्डेले भने, ‘हामी पछि सधैँ पार्टी अध्यक्ष रहन्छौँ कि रहँदैनौँ ? त्यो बेलामा पार्टी विधिमा चल्नु पर्छ कि पर्दैन ? एउटा प्रक्रिया हामीले निरूपण गरेर जानुपर्दैन ?’

उनले व्यक्ति भन्दा विधि ठूलो हुने भन्दै अबको नेतृत्वले विधि र प्रणालीलाई बलियो बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित: १८ मंसिर २०८२ ०८:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App