१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरान-अमेरिका द्वन्द्व : ट्रम्पको पाँच दिने ‘डेडलाइन’, इरानले के भन्यो?

इरानले हालको द्वन्द्वमा पछि नहट्ने अडान राख्दै क्षतिपूर्ति नपाएसम्म युद्ध जारी राख्ने बताएको छ। 

इरानी सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रेजाईले पूर्ण क्षतिपूर्ति दिनुपर्ने, सबै आर्थिक प्रतिबन्ध हटाउनुपर्ने, अमेरिकी सेना फारसको खाडीबाट पूर्ण रूपमा फिर्ता हुनुपर्ने र भविष्यमा कुनै पनि हस्तक्षेप नगर्ने सय प्रतिशत ग्यारेन्टी दिनुपर्ने सर्त राखेका छन्।

रेजाईले इरानी सेना पूर्ण शक्तिका साथ तयार रहेको र देशको नयाँ नेतृत्वले दृढतापूर्वक परिस्थिति सम्हालिरहेको बताए। उनले युद्ध इजरायलका कारण लम्बिएको दाबी गर्दै अमेरिका युद्धविरामका लागि तयार रहेको उल्लेख गरेका छन्। 

यसअघि इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले पनि आक्रमणकारीहरूलाई सजाय दिनुपर्ने माग गरेका थिए।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमाथिको ५ दिने ‘डेडलाइन’ मार्फत सैन्य सफलतालाई कूटनीतिक सम्झौतामा बदल्ने ट्रम्पको प्रयासप्रति शंका व्यक्त गर्दै इरानको आणविक क्षमता पूर्ण रूपमा ध्वस्त हुनुपर्ने अडान राखेका छन्। 

वार्ताप्रति आशावादी नभएका नेतान्याहुले इजरायलले इरान र लेबनानमा सैन्य कारबाही जारी राख्ने र दुई इरानी आणविक वैज्ञानिकहरूलाई मारेको दाबी समेत गरेका छन्।

सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग उत्पादक वार्ता भइरहेको दाबी गर्दै इरानी विद्युत् प्लान्ट र ऊर्जा पूर्वाधारमा हुने भनिएको आक्रमण पाँच दिनका लागि स्थगित गरेको घोषणा गरेका थिए। फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै उनले इरान वार्ताका लागि उत्सुक रहेको, मुख्य बिन्दुमा सहमति भएको र पाँच दिनभित्रै सम्झौता हुन सक्ने बताएका हुन्।

ट्रम्पले सोमबार नै सामाजिक सञ्जालमार्फत अमेरिकी युद्ध विभागलाई इरानी विद्युत् प्लान्ट र ऊर्जा पूर्वाधारमा कुनै पनि आक्रमण पाँच दिनका लागि रोक्न निर्देशन दिएको उल्लेख गरेका थिए। उनका अनुसार यो निरन्तर बैठक र छलफलको सफलतामा निर्भर छ।

यसअघि ट्रम्पले शनिबार हर्मुजको जलमार्ग पूर्ण रूपमा खोल्न ४८ घण्टाको अल्टिमेटम दिएका थिए। यदि इरानले जलमार्ग नखोले अमेरिकाले इरानी विद्युत् प्लान्ट नष्ट गर्ने चेतावनी दिएका थिए। इरानले जवाफमा यदि आफ्नो विद्युत् प्लान्टमा आक्रमण भए खाडी देशका ऊर्जा र पानी प्रशोधन केन्द्रहरूलाई निशाना बनाउने चेतावनी दिएको थियो।

यसबिच ट्रम्पले इरानमा सत्ता परिवर्तन हुन सक्ने र नयाँ राजनीतिक प्रणालीका लागि विकल्प खोजिरहेको पनि संकेत गरेका छन्। उनले इरानका अधिकारीसँग कुरा भएको दाबी गरे पनि कोसँग कुरा गरेको खुलाएनन्। किनभने तेहरानले निरन्तर अमेरिकासँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा वार्तामा नरहेको भनिरहेको छ। यसअघि वार्ता जारी रहँदा हमला गरिएको भन्दै इरानले वार्ता नहुने बताइरहेको छ। 

पछिल्लो रिपोर्ट अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्स, ज्वाइँ जारेड कुशनर र मध्यपूर्व दूत स्टिभ विटकफको सम्भावित सहभागितामा पाकिस्तानको इस्लामाबादमा इरान-अमेरिका शान्ति वार्ता हुन सक्ने सम्भावना छ। इजिप्ट, टर्की र कतार लगायतका देशले पनि मध्यस्थता गरिरहेका छन्। तर इरानी विदेश मन्त्रालयले ट्रम्पको वार्ता दाबीलाई डरले पछि हटेको भनेर व्याख्या गरेको छ। एजेन्सी

प्रकाशित: १० चैत्र २०८२ ०८:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App