नेकपा (एमाले) ले भोटेकोशी-त्रिशूली बाढी प्रभावित क्षेत्रका नागरिकहरूलाई निःशुल्क खाना उपलब्ध गराउन स्थलगत रूपमै ‘फुड स्टेसन’ सञ्चालन गर्ने भएको छ।
विपद्पछिको उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गर्दै एमालेले मंगलबारदेखि नेताहरूको नेतृत्वमा राहत टोलीलाई फिल्डमा उतारेको हो।
पार्टीका सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश बस्नेतको संयोजकत्वमा गठित ‘बाढीपीडित उद्धार, राहत तथा पुनर्स्थापना सहयोग समिति’ को कार्यविभाजनअनुसार पहिलो चरणमा नुवाकोटमा फुड स्टेसन स्थापना गर्न लागिएको हो।
केन्द्रीय सल्लाहकार परिषद्का सदस्य रुपनारायण श्रेष्ठ र युथ भोलेन्टियर फोर्सका अध्यक्ष पुष्पराज श्रेष्ठ नेतृत्वको टोली खाद्य सामग्रीसहित नुवाकोट प्रस्थान गरेको छ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट टोलीलाई बिदाइ गर्दै संयोजक बस्नेतले स्थानीय प्रशासन, स्थानीय तह र पीडितहरूसँग प्रत्यक्ष समन्वय गरेर खाना खुवाउने र राहत बाँड्ने प्रबन्ध मिलाइएको जानकारी दिए।
यसैगरी, रसुवा जिल्लामा संयोजन गर्न पार्टीका केन्द्रीय सदस्य तथा जिफन्ट अध्यक्ष विनोद श्रेष्ठको टोली बुधबार प्रस्थान गर्दैछ भने धादिङ र चितवनका लागि बागमती प्रदेश कमिटीका उपसचिव रमेश आचार्य नेतृत्वको टोली परिचालनको अन्तिम तयारीमा छ।
गत भदौ १० गतेको बाढीलगत्तैदेखि राष्ट्रिय युवा संघ, अनेरास्ववियु, युथ भोलेन्टियर फोर्स, जिफन्ट लगायतका जनसंगठन र स्थानीय कमिटीहरू प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा अहोरात्र खटिरहेको एमालेले जनाएको छ।
प्रकाशित: १६ भाद्र २०८३ १६:३० मंगलबार





