१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

एमालेको ४० सदस्यीय टोली नुवाकोट र रसुवा जाने

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेकपा (एमाले)ले ४० सदस्यीय बाढीपीडित उद्धार, राहत तथा पुनःस्थापना सहयोग समिति गठन गरेको छ।

पार्टी सचिव महेश बस्नेतको संयोजकत्वमा गठित समितिले प्रभावित क्षेत्रमा उद्धार, राहत सामग्री संकलन तथा वितरण र पुनःस्थापनाका काममा समन्वय गर्नेछ।

एमालेले प्रभावित जिल्लाहरूको जिम्मेवारीसमेत बाँडफाँट गरेको छ। रसुवाको संयोजन विनोद श्रेष्ठ, नुवाकोटको रूपनारायण श्रेष्ठ तथा धादिङ र चितवनको संयोजन रमेश आचार्यलाई दिइएको छ।

त्यस्तै, संघीय सरकारसँग समन्वय गर्ने जिम्मेवारी डा. राजन भट्टराईलाई तोकिएको छ। प्रचारप्रसार, आर्थिक व्यवस्थापन, स्वयंसेवक परिचालन, कार्यालय व्यवस्थापन तथा राहत संकलनका लागि पनि छुट्टाछुट्टै जिम्मेवारी तोकिएको एमालेले जनाएको छ।

एमालेका अनुसार प्रभावित क्षेत्रमा तत्काल आवश्यकताको पहिचान गरी सरकारी निकाय, स्थानीय तह तथा पार्टीका विभिन्न कमिटीसँग समन्वय गर्दै राहत सामग्री संकलन, ढुवानी र वितरण गरिनेछ। पार्टीका प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधिलाई समेत उद्धार तथा राहत अभियानमा प्रत्यक्ष सहभागी हुन निर्देशन दिइएको छ।

यसैबीच एमालेको केन्द्रीय उद्धार तथा राहत टोली भोलि नुवाकोट र रसुवा जाने भएको छ। टोली बिहान ११ बजे नुवाकोट र दिउँसो १ बजे रसुवातर्फ प्रस्थान गर्ने तयारी रहेको पार्टीले जनाएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले विपद्को कठिन अवस्थामा पार्टी पंक्ति, जनसंगठन, जनप्रतिनिधि, नागरिक समाज तथा सहयोगी सबैलाई उद्धार र राहत अभियानमा एकजुट हुन अपिल गरेका छन्।

प्रकाशित: १६ भाद्र २०८३ १७:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App