नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ महाधिवेशन शनिबारदेखि भक्तपुरमा सुरु हुँदैछ । शुक्रबार गरिएको पत्रकार सम्मेलनमा महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाइयो ।
महाधिवेशन भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी खुल्ला मैदानमा हुनेछ । मङ्सिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको उदघाटन पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
पत्रकार सम्मेलनमा पार्टी स्थायी कमिटी सदस्य एवं स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालले महाधिवेशनलाई सभ्य अनि भव्य पार्न पाँंच सय स्वयमसेवक परिचालन हुने जनाए । उनीहरु सबै पोशाकमा रहने उनले बताए । त्यसमा पार्टीका विभिन्न कमिटीका पदाधिकारीहरु रहने उनले जानकारी गराए । साथै उनीहरुमा पनि दश जना बराबर एकजना कमाण्डरको व्यवस्था रहेको उनले जानकारी गराए । साथै महाधिवेशनलाई थप व्यवस्थित गर्न अरु सामान्य १० हजार स्वयमसेवकहरु परिचालित हुने उनले जनाए ।
पत्रकार सम्मेलनमा पार्टी जनपरिचालन समितिका संयोजक डा.राजन भट्टराईले महाधिवेशनमा देशभरबाट तीन लाख जनसमुदाय सहभागी हुने दावी गरे । महाधिवेशन उदघाटनअघि पूर्वका लागि भक्तपुरको जगाती र पश्चिमका लागि गठाघरबाट जुलुश सुरु भई महाधिवेशनस्थल सल्लाघारी पुग्ने उनले जनाए । महाधिवेशनस्थल पुग्न दुईदुई किलोमिटर परबाट पैदल जुलुश सुरु भई महाधिवेशनस्थलको उदघाटन सत्रमा पुग्ने योजना बनाइएको उनले जनाए ।
यसअघि पश्चिमतिरको काठमाडौं कोटेश्वरदेखि गाडीमा आएकाहरु ग्ठाघरमा ओर्लने र पूर्वतिरबाट गाडीबाट आएकाहरु जगातीमा ओर्लेर जुलुशमा सहभागी गराउने योजना बनाइएको उनले बताए । पूर्वतिरका गाडी पार्किंगका लागि भक्तपुरकै नंखेलको भाइरल प्लानिंग र पश्चिमतिरका लागि मध्यपुर थिमिको खुल्ला चौरमा पार्किंगको व्यवस्था मिलाइएको उनले बताए । जुलुशमा दैशैभरिका दुई सय भेषभुषाका झाकीसहितको टोली सहभागी हुने र उनीहरु कार्यक्रम उदघाटनस्थलसम्म पुगी उदघाटनस्थलमै पनि झाँंकी प्रदर्शनमा रहने जनाइयो ।
महाधिवेशनमा समय अभावका कारण विदेशी मुलुकका प्रतिनिधिहरुलाई नबोलाइएको बताइयो । उनीहरुको लिखित सन्देश आउने बताइयो । महाधिवेशनमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १६ दलका प्रमुखहरुलाई निमन्त्रण गरिएको र उनीहरु सहभागी हुने जनाइयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका मित्र पार्टीका पार्टी अध्यक्षहरु सम्मेलनमा उपस्थित भई शुभकामना मन्तव्य दिनुहुने कार्यक्रम रहेको छ ।
पार्टी पोलिटव्युरो सदस्य एवं मञ्च व्यवस्थापन समितिका संयोजक विनोद श्रेष्ठले २१ गतेबाट मञ्च बनाउन सुरु गरी शुक्रबार रातिसम्ममा सकाउने योजना रहेको जानकारी गराए । दिउँंसो भएको पत्रकार सम्मेलनमा उनले भने, अहिलेसम्म ९० प्रतिशत काम सकिएको छ।
पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनस्थलमा बस्न मिल्ने गरी दुई हजार कुर्सी राखिएको जानकारी गराए । ती कुर्सीहरुमा एमालेसहित विभिन्न दलका शीर्ष नेता, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी हुने व्यवस्था मिलाइने जनाइएको छ । यी ठाउँंहरु बार राखेर सर्वसाधारण प्रवेश गर्न नमिल्ने गरी सुरक्षा व्यवस्था कडा बनाइएका छन् ।
उदघाटनस्थल विश्व सम्पदा सूचिमा परेको चाँगुनारायण मन्दिरको स्थापत्य झल्किने गरी निर्माण गरिएको छ । भक्तपुरसहित उपत्यकाका ऐतिहासिक–सांस्कृतिक सम्पदाको पहिचानलाई मञ्चमा समेटिने गरी मल्लकालीन शैलीमा मञ्च निर्माण गरिएको छ । मञ्चको दायाँ–बायाँ हिमालको आकृति बनाइएको छ । साथै पार्टी अध्यक्ष केपी शर्मा ओलीको अग्लो पूर्ण आकाडको तस्वीर पनि छ । साथसाथै सानोमा भक्तपुरको पाँंचतल्ले मन्दिरको फोटो पनि राखिएको छ । कार्यक्रमस्थल वरिपरि अस्थायी शौचालय बनाइएको छन् । प्रवेशद्वार तथा आवश्यक अन्य संरचनाहरू आकर्षक रुपमा बनाइएको छ ।
चाँगुनारायण मन्दिरको आभास दिनेगरी निर्माण भइरहेको मुख्य मञ्च बाहिरबाट हेर्दा नै आकर्षक देखिने र मञ्चबाट उभिएर मन्तव्य दिँदा मन्दिरको सिँढीमै उभिएको अनुभूति हुनेगरी विशेष डिजाइन गरिएको बनाइएको छ । मञ्चमा नेवारी कला–संस्कृति झल्कने दृश्य, प्रतीक तथा सजावटका संरचनाहरू राखिने जनाइएको छ । त्यस्तै उदाटनका दिन झाँकी प्रदर्शन गर्ने गेट, प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूका लागि छुट्टै प्रवेशद्वार र सर्वसाधारणका लागि पृथक् गेट निर्माण गरिएको छ ।
महाधिवेशनस्थल पहिचानलाई सजिलो बनाउन विभिन्न स्थानमा ब्यानर, पार्टी झण्डा राखी प्रचार–प्रसार गरिएका छन् ।
प्रकाशित: २६ मंसिर २०८२ १८:१७ शुक्रबार





