नेकपा (एमाले) मधेस प्रदेश कमिटीले हालै सम्पन्न निर्वाचनको समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव संकलनमा जुटेका छन । पार्टीका स्थानीय, प्रदेश र संघका नेताको हसभागितामा मधेसमा पार्टीको उपस्थितिको समीक्षा भइरहेको छ । यही समीक्षाबाट एमालेले मधेसमा पार्टी पुनर्गठन अभियान चलाउने तयारी पनि गरेको छ।
महोत्तरीको बर्दिवासमा आज बसेको बैठकले पार्टी संगठनलाई थप सुदृढ, प्रभावकारी र जनमुखी बनाउनका लागी प्रदेश तथा जिल्ला तहका नेताहरूको सहभागिता थियो।
प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । त्यसैगरी महासचिव शंकर पोखरेल, केन्द्रीय सचिव भानुभक्त ढकाललगायत शीर्ष नेताहरूको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा मधेस प्रदेश अन्तर्गतका भूगोलका केन्द्रीय सदस्य, जिल्ला कमिटीका पदाधिकारी तथा पार्टीका विभिन्न तहका जिम्मेवार नेताहरू सहभागी भएका थिए। सहभागीहरूले पछिल्लो निर्वाचनको परिणाम, संगठनात्मक अवस्था तथा जनमतको प्रवृत्तिबारे विस्तृत समीक्षा भएको बैठकमा सहभागी एमाले रौतहट इन्चार्ज अजय गुप्ताले बताए ।
छलफलका क्रममा पार्टीका सबल पक्ष, कमजोरी, संगठन विस्तारका चुनौती तथा बदलिँदो राजनीतिक परिवेशमा पार्टीलाई कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा गम्भीर बहस भएको नेता गुप्ताले बताए ।
नेताहरूले निर्वाचन परिणामलाई केवल हार–जितको कोणबाट मात्र नभई संगठन सुदृढीकरणको अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिएका थिए।
एमाले मधेस प्रदेश कमिटीले सञ्चालन गरेको कार्यक्रममा आगामी राजनीतिक रणनीति, संगठन सुदृढीकरण र जनआधार विस्तारका बिषयमा छलफल जारी छ ।
प्रकाशित: १३ असार २०८३ १७:३९ शनिबार





