२५ असार २०८३ बिहीबार
image/svg+xml
राजनीति

संविधान संशोधन कार्यदलबाट एमाले बाहिरियो, प्रतिनिधिलाई फिर्ता बोलायो

सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलबाट नेकपा (एमाले) पनि औपचारिक रूपमा बाहिरिएको छ।

एमाले महासचिव शंकर पोखरेलले बिहीबार कार्यदललाई पत्र  पठाउँदै पार्टीका तर्फबाट सहभागी प्रतिनिधि डा भीष्म अधिकारीलाई फिर्ता बोलाइएको जानकारी गराएका हुन्।  

एमालेले पठाएको पत्रमा सरकारसँग आफ्नो पार्टीले अघि सारेका प्रस्तावबारे हालसम्म कुनै स्पष्ट धारणा वा जवाफ प्राप्त नभएको उल्लेख गर्दै प्रतिनिधि फिर्ता बोलाउने निर्णय गरिएको जनाइएको छ। पत्रमा भनिएको छ, ‘आजका दिनसम्म पनि हाम्रो पार्टीको प्रस्ताव अनुसार सरकारका तर्फबाट कुनै स्पष्ट जवाफ नआएको सन्दर्भमा औपचारिक रूपमा पार्टी प्रतिनिधिलाई फिर्ता बोलाइएको जानकारी गराउँदछु।’  

कार्यदलमा एमालेका तर्फबाट संविधानविद् डा भीष्म अधिकारी सहभागी थिए। उनले कार्यदलको प्रारम्भिक बैठकमा सहभागिता जनाए पनि पछिल्ला बैठकहरूमा भने उपस्थित भएका थिएनन्।  

यसअघि नै नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय जनमोर्चा लगायतका अन्य राजनीतिक दलहरू पनि कार्यदलबाट बाहिरिइसकेका छन्। 

प्रकाशित: २५ असार २०८३ १२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App