नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई केवल सत्ता परिवर्तन नभई आर्थिक–सामाजिक अन्तर्विरोधबाट उत्पन्न जनअसन्तोषको परिणाम भएको बताएका छन्। उनले आम निर्वाचन–२०८२ मा नयाँ राजनीतिक शक्तिको उदय जनताको सुशासन, रोजगारी र भ्रष्टाचार नियन्त्रणप्रतिको अपेक्षासँग जोडिएको विश्लेषण गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा बिहीबार सार्वजनिक लामो टिप्पणीमा पोखरेलले पछिल्ला वर्षहरूमा पूर्वाधार विकास, सामाजिक सुरक्षा र वैदेशिक रोजगारीका अवसर विस्तारका कारण नागरिकको जीवनस्तर उकासिए पनि त्यसअनुसार आर्थिक वृद्धि र वैधानिक आम्दानी बढ्न नसकेको उल्लेख गरेका छन्।
उनका अनुसार जीवनस्तर र आम्दानीबीचको असन्तुलनले समाजमा व्यापक असन्तोष सिर्जना गरेको हो।
‘वस्तु तथा सेवाको उपभोग बढ्यो, तर त्यसलाई धान्ने आय बढेन। यही अवस्थाले भ्रष्टाचार, कालोबजारी, अपराधीकरण, पैतृक सम्पत्तिको क्षय र तीव्र वैदेशिक पलायनलाई बढावा दियो,’ उनले उल्लेख गरेका छन्।
पोखरेलले राज्यले समयमै यी समस्याको सम्बोधन गर्न नसक्दा नागरिकमा निराशा र आक्रोश बढ्दै गएको बताएका छन्।
उनका अनुसार आम निर्वाचन–२०८२ मा मूलधारका दलहरूले देशभक्ति, पूर्वाधार विकास र सामाजिक सुरक्षालाई प्रमुख चुनावी एजेन्डा बनाए पनि त्यसले मतदातालाई आकर्षित गर्न सकेन। बरु भ्रष्टाचार नियन्त्रण, सुशासन र रोजगारीलाई प्राथमिकतामा राखेका वैकल्पिक राजनीतिक शक्तिले जनसमर्थन प्राप्त गर्न सफल भएको उनको विश्लेषण छ।
पोखरेलले पुराना दलबाट पूरा हुन नसकेका अपेक्षा नयाँ शक्तिबाट मात्र सम्भव छन् भन्ने भाष्य स्थापित गर्न वैकल्पिक शक्ति सफल भएको दाबी गरेका छन्। सामाजिक सञ्जालको प्रभावकारी प्रयोगले त्यसलाई थप बल पुगेको र मूलधारका दलहरूले त्यसको प्रभावकारी प्रतिवाद गर्न नसकेको उनको टिप्पणी छ।
महासचिव पोखरेलले नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा भूराजनीतिक प्रभावसमेत रहेको दाबी गरेका छन्। उनका अनुसार पुराना दलविरुद्ध र नयाँ शक्तिको पक्षमा बाह्य चलखेलमार्फत जनमत निर्माण गर्ने प्रयास भएको थियो।
उनले जेन्जी अभियानकर्ताका नाममा भएका प्रदर्शनलाई भिडन्तमा रूपान्तरण गरेर जनआक्रोश बढाउने प्रयास भएको दाबी गर्दै भदौ २३ र २४ गतेका घटनाको जगमा भएको सत्ता परिवर्तनमा बाह्य शक्तिको हस्तक्षेप रहेको आरोप लगाए।
पोखरेलले लोकप्रियतावाद, अवसरवाद र अराजकतावादको आधारमा उदाएको नयाँ राजनीतिक शक्ति दीर्घकालसम्म टिक्न नसक्ने दाबी गरेका छन्।
उनले वर्तमान सरकारले लोकतान्त्रिक र संवैधानिक प्रक्रियाबाट समस्या समाधान खोज्नुको सट्टा स्वेच्छाचारी र अधिनायकवादी शैली अपनाउन खोजेको आरोप पनि लगाए।
‘लामो लोकतान्त्रिक आन्दोलनबाट परिपक्व बनेको नेपाली समाजले अलोकतान्त्रिक अभ्यासलाई लामो समय स्वीकार गर्दैन। यस्तो प्रवृत्ति छिट्टै अस्वीकार हुनेछ,’ पोखरेलले टिप्पणी गरेका छन्।
प्रकाशित: २५ असार २०८३ २१:२७ बिहीबार





