४८ टोलीबाट सुरु भएको फिफा विश्वकप-२०२६ अब निर्णायक चरणमा प्रवेश गरेको छ। प्रतियोगिताको अन्तिम आठमा स्थान बनाउँदै टोलीहरू क्वार्टरफाइनलका लागि तयार छन्। फिफाले नकआउट चरणका रोमाञ्चक खेल र टोलीको वर्तमान प्रदर्शनका आधारमा उपाधि दाबेदारको वरियता निर्धारण गरेको हो।
१. फ्रान्स (फिफा वरियता : १)
लगातार चार जित दर्ता गरिसकेको फ्रान्सले अन्तिम १६ को खेलमा पाराग्वेविरुद्ध १-० को सङ्घर्षपूर्ण जित निकाल्दै आफ्नो अपराजित यात्रालाई पाँचौं खेलसम्म कायम राखेको छ।
टोलीसँग रहेका उत्कृष्ट खेलाडी र आक्रामक शैलीका कारण फ्रान्स उपाधिको मुख्य दाबेदार देखिएको छ। किलियन एमबाप्पे सात गोलसहित गोल्डेन बुटको दौडमा छन् भने माइकल ओलिस असिस्ट चार्टको शीर्ष स्थानमा छन्। फ्रान्सले अब शुक्रबार राति १:४५ बजे क्वार्टरफाइनलमा मोरक्कोको सामना गर्नेछ।
२. स्पेन (फिफा वरियता : ३)
पोर्चुगलविरुद्धको खेलमा ९१ औं मिनेटमा मिकेल मेरिनोले गरेको निर्णायक गोलको मद्दतले स्पेन क्वार्टरफाइनलसम्म पुग्न सफल भयो।
प्रतियोगिताभर रक्षात्मक रूपमा निकै मजबुत देखिएको स्पेनले नकआउट चरणमा बलियो प्रदर्शन गरिरहेको छ। स्टार खेलाडी लामिन यामालले सोचेअनुरूप प्रदर्शन गर्न बाँकी रहे पनि फेरान टोरेसको लयले टोली थप दाबेदार बनेको छ। अब शनिबार राति १२:४५ बजे टोलीले बेल्जियमसँग क्वार्टरफाइनल खेल्नेछ।
३. अर्जेन्टिना (फिफा वरियता : २)
समूह चरणमा सहज जित निकालेको अर्जेन्टिना नकआउट चरणमा भने केही दबाबमा देखिएको छ। इजिप्टविरुद्ध रोमाञ्चक खेलमा उत्कृष्ट पुनरागमन गर्दै टोलीले ३-२ को जित निकालेर क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो।
कप्तान लियोनल मेस्सी जारी विश्वकपमा आठ गोलसहित गोल्डेन बुटको दौडमा अग्र स्थानमा छन्। महत्त्वपूर्ण खेलको सुरुवाती समयमा सङ्घर्ष गर्नु चिन्ताको विषय भए पनि अर्जेन्टिनाको जित्ने दृढ इच्छाशक्ति र खेलमा फर्कने क्षमता प्रशंसनीय छ। उनीहरूले अब आइतबार बिहान ६:४५ बजे स्विट्जरल्याण्डविरुद्ध क्वार्टरफाइनल खेल्नेछन्।
४. इंगल्यान्ड (फिफा वरियता : ४)
मेक्सिकोविरुद्धको प्रभावशाली जितसँगै इंगल्यान्ड क्वार्टरफाइनलमा पुगेको छ। जुड बेलिंघम र ह्यारी केन उत्कृष्ट फर्ममा छन् भने जोर्डन पिकफोर्डको नेतृत्वमा रक्षापंक्ति पनि अब्बल देखिएको छ।
जरेल क्वान्साले रातो कार्ड पाएर मैदान छाड्नुपरे पनि इंगल्यान्डले आफ्नो अग्रता जोगाउन सफल भयो। इंगल्यान्डले अब आइतबार राति २:४५ बजे नर्वेका आक्रामक स्ट्राइकर एर्लिङ हालान्डको सामना गर्नेछ।
५. मोरक्को (फिफा वरियता : ७)
सन् २०२२ को ऐतिहासिक यात्रालाई निरन्तरता दिँदै मोरक्कोले पुनः विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएर आफूलाई प्रमाणित गरेको छ।
क्यानडाविरुद्ध ३-० को सहज जित निकालेको यो टोलीले ठुला टोलीहरूलाई स्तब्ध पार्न आफू सक्षम रहेको देखाइसकेको छ। मिडफिल्डर इस्माइल साइबारीको फिटनेसले टोलीको आगामी यात्रामा ठुलो भूमिका खेल्नेछ। मोरक्कोले अब शुक्रबार राति १:४५ बजे बलियो फ्रान्ससँग क्वार्टरफाइनल खेल्दैछ।
६. नर्वे (फिफा वरियता : ३१)
एर्लिङ हालान्डको उत्कृष्ट दुई गोलको मद्दतले नर्वे आधुनिक विश्वकपको इतिहासमा पहिलो पटक (सन् १९३८ पछि) क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
गोलकिपर ओर्जन नाइल्यान्डको उत्कृष्ट फर्म र मार्टिन ओडेगार्डको कुशल नेतृत्वले नर्वेलाई एक सन्तुलित टोली बनाएको छ। हालान्ड र ओडेगार्डले आइतबार राति २:४५ बजे इंगल्यान्डविरुद्ध क्वार्टरफाइनल खेल्नेछन्।
७. बेल्जियम (फिफा वरियता : ९)
प्रारम्भिक चरणमा औसत प्रदर्शन गरे पनि बेल्जियमले सही समयमा आफ्नो लय समातेको छ। सेनेगलविरुद्धको नाटकीय र रोमाञ्चक जितपछि टोली क्वार्टरफाइनलमा पुग्न सफल भएको हो।
तर, भरपर्दा मिडफिल्डर अमाडु ओनानाको चोटले टोलीको आगामी रणनीतिलाई ठुलो धक्का पुर्याएको छ। अब शनिबार राति १२:४५ बजे उनीहरूले बलियो स्पेनको कडा चुनौती सामना गर्नेछन्।
८. स्विट्जरल्याण्ड (फिफा वरियता : १९)
कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्याण्ड सन् १९५४ पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ।
जोहान म्यान्जाम्बीको अनुपस्थितिमा टोलीको मिडफिल्ड र रचनात्मकता केही कमजोर देखिए पनि उनीहरूको रक्षात्मक दृढता र सामूहिक शक्तिको बलमा जित सम्भव भयो। अब आइतबार बिहान ६:४५ बजे अर्जेन्टिना विरुद्धको महाभिडन्तमा उनीहरू आफ्नो भाग्य परीक्षण गर्नेछन्।
सेमिफाइनल, तेस्रो स्थानको प्ले-अफ र फाइनल भने १५ जुलाईदेखि २० जुलाईसम्म हुनेछन्।
सेमिफाइनलका खेल अमेरिकाको डालस र अट्लान्टामा १५ र १६ जुलाईमा बिहान १२:४५ बजे, तेस्रो स्थानको प्ले-अफ १९ जुलाईमा बिहान २:४५ बजे मियामीमा हुने तालिका छ।
फिफाका अनुसार फाइनल २० जुलाईमा बिहान १२:४५ बजे अमेरिकाको न्यु योर्क न्यु जर्सीमा खेलिनेछ।
-एजेन्सीको सहयोगमा
प्रकाशित: २५ असार २०८३ २१:१७ बिहीबार



-600x400.jpg)

