नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई बसोबासको व्यवस्था गरेको छ।
सम्पर्क समन्वय कमिटीले बस्न र खाना समस्या हुने प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा भए पनि बासको प्रबन्ध गरेको जनाएको छ। कमिटीका सचिव आर सि लामिछानेले टाढाबाट आउने प्रतिनिधिलाई बस्न र खानाका समस्या भएमा नेता तथा कार्यकर्ताको घरमा राख्ने व्यवस्था मिलाइएको बताए।
'यस पटक प्रतिनिधिलाई महाधिवेशन आयोजक कमिटीले आवासको व्यवस्था मिलाएको छैन। तर हामीले प्रतिनिधिलाई काठमाडौंमा बस्न समस्या नहोस् भनेर नेता तथा कार्यकर्ताको घर र कोठामा राख्ने व्यवस्था मिलाएका छौँ,' उनले भने, 'अहिले हामीले प्रदेशगत रूपमा काठमाडौंमा बस्न समस्या हुने प्रतिनिधिको विवरण सङ्कलन गरिरहेका छौँ।'
महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुने छन्। यस पटक पार्टीले आवासको व्यवस्था नगरेकाले प्रतिनिधि शुल्क पनि तीन हजार र दुई हजार मात्र तोकेको छ। महाधिवेशनका आयोजक प्रतिनिधिलाई तीन हजार रुपैयाँ र निर्वाचित भएर आउने प्रतिनिधिलाई रु दुई हजार रुपैयाँ शुल्क तोकेको हो।
एमाले महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदै छ।
प्रकाशित: २२ मंसिर २०८२ ०७:२२ सोमबार





