राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण अब आफ्नो निर्णायक तथा रोमाञ्चक चरणमा प्रवेश गरेको छ।
झण्डै एक महिना लामो लिग चरणको २८ खेलको समाप्तिसँगै मंगलबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्लेअफको महासंग्राम सुरु हुँदैछ।
आइतबार लिग चरणको अन्तिम खेलमा साविक विजेता जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको प्रतिस्पर्धासँगै शीर्ष चारको समीकरण मात्र पूरा भएन, नेपाली फ्रेन्चाइज क्रिकेटमा नयाँ विजेता उदाउने निश्चित समेत भएको छ।
जनकपुरको पतन र नयाँ विजेताको खोजी
यो सिजनको सबैभन्दा अप्रत्याशित नतिजा भनेकै साविक विजेता जनकपुर बोल्ट्सको दयनीय प्रदर्शन रह्यो। आइतबारको खेलमा प्रतिष्ठाका लागि मैदान उत्रिए पनि जनकपुरले जितसहित सुखद अन्त्य गर्न सकेन।
नतिजास्वरूप, गत संस्करणको च्याम्पियन टोली यसपटक अंक तालिकाको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ।
जनकपुरको बहिर्गमनसँगै एनपिएल सिजन–२ ले नयाँ च्याम्पियन पाउने पक्का भएको छ। यसपटक प्लेअफमा पुगेका चार टोलीमध्ये तीन टोली- विराटनगर किंग्स, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्सले पहिलो पटक प्लेअफको यात्रा तय गरेका हुन्।
साविक उपविजेता सुदूरपश्चिम रोयल्स मात्र निरन्तरता कायम राख्दै प्लेअफमा स्थान सुरक्षित गर्ने टोली हो। तसर्थ, आगामी चार खेलहरू नेपाली क्रिकेट प्रेमीहरूका लागि निकै कौतुहलपूर्ण हुनेछन्।
प्लेअफको गणित: को–कस्तो अवस्थामा ?
लिग चरणको समाप्तिपछि शीर्ष दुईमा रहँदै सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सले ‘क्वालिफायर–१’ खेल्नेछन् भने तेस्रो र चौथो स्थानमा रहेका काठमाडौं गुर्खाज र लुम्बिनी लायन्सले ‘एलिमिनेटर’ मा प्रतिस्पर्धा गर्नेछन्।
मंगलबार हुने क्वालिफायर–१ को विजेता सोझै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले बुधबार हुने एलिमिनेटरको विजेतासँग ‘क्वालिफायर–२’ खेल्ने मौका पाउनेछ।
अब हेरौं, प्लेअफमा पुगेका चारवटै टोलीको विस्तृत विश्लेषण
सुदूरपश्चिम रोयल्स: ‘अभागी’ उपविजेताको उपाधि मोह
गत संस्करणको सबैभन्दा ‘अभागी’ टोलीका रूपमा चिनिएको सुदूरपश्चिम रोयल्स यसपटक पनि उपाधिको प्रमुख दाबेदार हो।
एनपिएल सिजन–१ मा जम्मा एक खेल हारेर फाइनल पुगेको सुदूरपश्चिम, आफैँले लिग चरणमा दुई पटक हराएको टोलीसँग फाइनलमा पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।
यस संस्करणमा पनि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमले सुरुदेखि नै आफ्नो दबदबा कायम राख्दै सबैभन्दा पहिले प्लेअफमा स्थान सुरक्षित गर्यो।
तर, लिग चरणको आफ्नो अन्तिम खेलमा विराटनगर किंग्ससँग पराजित हुँदै यसपटक पनि उसको अपराजित यात्रामा ‘ब्रेक’ लागेको छ। गत वर्ष उपाधिबाट एक कदम मात्र टाढा रहेको सुदूरपश्चिमको यसपटकको अर्जुनदृष्टि ट्रफी उचाल्नेमा केन्द्रित छ।
जारी लिगमा प्लेअफ पुगेका अन्य तीन टोलीमध्ये सुदूरपश्चिम केवल विराटनगरसँग मात्र पराजित भएको छ। उसले काठमाडौं गुर्खाजलाई २९ रनको अन्तरले र लुम्बिनी लायन्सलाई ७ विकेटको सानदार जितसहित पराजित गरेको इतिहास छ।
मैदानमा ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा सन्तुलित देखिएको सुदूरपश्चिमलाई लिग चरणमा विराटनगर बाहेक कसैले रोक्न सकेन।
मंगलबार हुने क्वालिफायर–१ मा सुदूरपश्चिमले तिनै विराटनगर किंग्सको सामना गर्दैछ, जसले उसको अपराजित यात्रा टुङ्ग्याएको थियो। यो खेल सुदूरपश्चिमका लागि बदला लिने र सोझै फाइनल पुग्ने सुनौलो अवसर हो।
विराटनगर किंग्स: सन्दीपको कप्तानी र उच्च मनोबल
एनपिएलको जारी सिजनमा ‘डार्क हर्स’ का रूपमा उदाएको विराटनगर किंग्सले आफूलाई उपाधिको बलियो दाबेदारका रूपमा उभ्याएको छ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष–२ मा रहेर क्वालिफायर–१ खेल्ने पक्का गरेको हो।
सुरुवाती खेलदेखि नै आक्रामक र रक्षात्मक रणनीतिको सन्तुलन मिलाउँदै आएको विराटनगरले आफ्नो अन्तिम लिग खेलमा शीर्ष स्थानको सुदूरपश्चिमलाई हराएर आफूलाई थप बलियो प्रमाणित गरेको छ।
त्रिवि क्रिकेट मैदानमा दर्शकको सर्वाधिक समर्थन पाइरहेको विराटनगरका लागि कप्तान सन्दीपको नेतृत्व र रणनीतिक चतुरता मुख्य हतियार बनेको छ। मैदानमा गुञ्जने ‘सन्दीप–सन्दीप’ को नारा र टोलीको ‘वाइ–वाइ’ ले खेलाडीहरूको मनोबल उच्च बनाएको छ।
जारी लिगमा विराटनगरले ७ खेलमध्ये ५ मा जित र २ मा हार व्यहोरेको छ। प्लेअफका प्रतिस्पर्धीमध्ये उसले काठमाडौंलाई ५ विकेटले र सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको छ भने लुम्बिनीसँग ५ विकेटको हार व्यहोरेको छ।
काठमाडौं गुर्खाज: इतिहास बदल्दै प्लेअफमा
करण केसीको कप्तानीमा रहेको काठमाडौं गुर्खाजले यस सिजनमा आफ्नो पुरानो पीडा भुलाउँदै ऐतिहासिक फड्को मारेको छ।
एनपिएल सिजन–१ मा नेट रनरेटका कारण पछि पर्दै प्लेअफ खेल्नबाट वञ्चित भएको काठमाडौंले यसपटक पहिलो पटक अन्तिम चारमा स्थान बनाएको हो।
बिहीबार पोखरा एभेन्जर्सलाई हराउँदै प्लेअफ सुनिश्चित गरेको काठमाडौं शनिबारसम्म शीर्ष दुईमा रहने प्रबल सम्भावना थियो। तर, शनिबार विराटनगरले सुदूरपश्चिममाथि फराकिलो जित हात पारेपछि काठमाडौं तेस्रो स्थानमा खुम्चिन पुग्यो। जसका कारण अब काठमाडौंले फाइनल पुग्नका लागि एलिमिनेटर र क्वालिफायर–२ गरी दुईवटा कठिन खुड्किला पार गर्नुपर्नेछ।
जारी एनपिएलमा काठमाडौंले साविक विजेता जनकपुरलाई पराजित गर्दै विजयी सुरुवात गरेको थियो। लिग चरणका ७ खेलमध्ये ५ मा जित र २ मा हार व्यहोरेको काठमाडौंको नतिजा अंकगणितमा बलियो देखिन्छ।
तर, प्लेअफमा पुगेका अन्य तीन टोलीमध्ये उसले लुम्बिनी लायन्सलाई मात्र पराजित गर्न सकेको छ भने सुदूरपश्चिम र विराटनगरसँग पराजित भएको छ।
सुरुवाती खेलहरूमा केही असन्तुलित देखिए पनि पछिल्ला खेलहरूमा काठमाडौंले लय समातेको छ बधबार हुने एलिमिनेटरमा उसको भेट लुम्बिनी लायन्ससँग हुनेछ।
गत संस्करणमा काठमाडौंले लुम्बिनी र विराटनगरलाई हराएको थियो भने सुदूरपश्चिमसँग पराजित भएको थियो। करण केसीको अलराउन्ड प्रदर्शन र टिमको एकता नै काठमाडौंको मुख्य शक्ति हो।
लुम्बिनी लायन्स: ‘पुछार’ देखि प्लेअफसम्मको उत्कृष्ट पुनरागमन
यस सिजनको सबैभन्दा रोमाञ्चक कथा लुम्बिनी लायन्सले लेखेको छ। गत संस्करणमा अंक तालिकाको पुछारमा रहँदै प्रतियोगिता टुङ्ग्याएको लुम्बिनीले यसपटक उत्कृष्ट ‘कमब्याक’ गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ।
राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले साविक विजेता जनकपुरलाई पराजित गरेसँगै प्लेअफको टिकट काटेको हो। लुम्बिनी यस सिजनको चौथो तथा प्लेअफमा पुग्ने अन्तिम टोली हो।
जारी संस्करणमा आफ्नो पहिलो खेलमा विजयी सुरुवात गरेर प्रशंसा बटुलेको लुम्बिनी त्यसपछि लगातार तीन खेलमा पराजित हुँदा धेरैले आस मारिसकेका थिए। तर, टोलीले हार मानेन। त्यसपछि लगातार तीन खेलमा जित हासिल गर्दै लुम्बिनीले असम्भव जस्तो लाग्ने प्लेअफ यात्रा सम्भव तुल्यायो।
प्लेअफमा पुगेका अन्य तीन टोलीमध्ये लुम्बिनीले विराटनगर किंग्सलाई पराजित गरेको छ भने सुदूरपश्चिम र काठमाडौं गुर्खाजसँग हार व्यहोरेको छ।
बुधबार हुने एलिमिनेटरमा लुम्बिनीले काठमाडौं गुर्खाजको सामना गर्नेछ। ‘गर वा मर’ को स्थितिमा खेल्न बानी परेको र दबाब थेग्न सक्ने क्षमता विकास गरेको लुम्बिनीको लक्ष्य अब सिधै उपाधि उचाल्ने रहेको छ।
एनपिएल सिजन–२ अब अन्तिम चरणमा आइपुगेको छ। चार खेल बाँकी रहँदा कुन टोलीले बाजी मार्ला भन्ने अनुमान गर्न कठिन छ।
सुदूरपश्चिमको स्थिरता, विराटनगरको आक्रामकता, काठमाडौंको सन्तुलन र लुम्बिनीको संघर्षपूर्ण पुनरागमनले आगामी खेलहरू निकै प्रतिस्पर्धात्मक हुने सङ्केत गरेको छ।
साविक विजेता बाहिरिएसँगै एनपिएलले नयाँ ‘क्रोन’ पाउने निश्चित छ।
प्रकाशित: २२ मंसिर २०८२ २१:२५ सोमबार





