१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

एमालेका केन्द्रीय सदस्यहरू मनोवैज्ञानिक त्रासमा

नेकपा एमालेको नवौं केन्द्रीय कमिटी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्य मनोवैज्ञानिक त्रासमा देखिएका छन्। बैठक सुरु भएकै दिन सोमबार विधान संशोधन र पूर्वराष्ट्रपति विद्या भण्डारीको राजनीतिक यात्राको विषय जल्दोबल्दो भएको सन्दर्भमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्न मध्यमार्गी धार समाउँदा उनीहरूमा प्रस्ट रूपमा मनोवैज्ञानिक त्रास देखिएको हो। 

‘ओलीको पक्षमा बोल्दा होस् वा भण्डारीका बारेमा बोल्दा, दुवै नेतालाई बराबरी सम्बोधन कसरी गर्ने भन्नेमा उनीहरू दोधारमा परेका देखिन्थे। विधान मस्यौदाबारे बोल्दा पनि ७० वर्षे उमेरहद र दुई कार्यकालको प्रावधानमा स्पष्ट खुल्न नसक्दा उनीहरूमा त्रास रहेको स्पष्ट हुन्थ्यो,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने। 

ती सदस्यका अनुसार अहिले नै विद्याको पक्षमा खुल्दा भोलिका दिनमा कारबाही भोग्नुपर्ने हो कि भन्ने त्राससमेत वक्तामा देखिएको थियो। ‘अहिले स्पष्ट रूपमा ईश्वर पोखरेल मात्रै खुल्नुभएको छ। पोखरेल आफ्नो समूह बनाउन कमजोर रहेका कारण उहाँलाई मात्र आधार मानेर अहिले नै खुल्ने अवस्था केन्द्रीय सदस्यहरूको देखिएन,’ ती केन्द्रीय सदस्यको दाबी छ। बैठकमा सहभागी अर्का केन्द्रीय सदस्यका अनुसार गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यहरूले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राखेको विधान संशोधनको प्रस्तावमा धारणा राख्न सुरु गरेका थिए। 

बैठकमा बोलेका केन्द्रीय सदस्यहरू राजीव पहारी, पदम गिरी, रवीन्द्र अधिकारी, सूर्य पाठक, रामशरण बस्नेत, इन्द्रलाल सापकोटा, प्रभा कोइराला, बालकृष्ण काउछा, तिलक महत, नवराज शर्मा र केदार सिग्देलले आफ्नो धारणा राख्ने क्रममा विद्या भण्डारी राजनीतिमा आउनु आवश्यक नभएको बताउन नसके पनि मानसम्मानको ख्याल गर्नुपर्ने भन्दै मध्यमार्गी धारणा राखेका थिए। केन्द्रीय सदस्य सिग्देलले राष्ट्रपति भइसकेका व्यक्ति सक्रिय राजनीतिमा फर्कनु राम्रो नभएको बताउँदै गर्दा ७० वर्षे उमेरहद र दुई कार्यकालको विषय नै बिर्सेका थिए। केन्द्रीय कमिटीको बैठक सुरु हुनुअघि अघिल्लो दिन राति प्रदेश इन्चार्जहरूले आफ्नो प्रदेशका सांसदहरूलाई के बोल्ने के नबोल्ने भन्ने निर्देशन तथा प्रशिक्षण दिएका थिए। 

केन्द्रीय सदस्य पहारीले एघारौं महाधिवेशनबाट पनि अध्यक्षमा केपी शर्मा ओलीलाई नै बनाउन सबै केन्द्रीय सदस्यलाई आह्वान गरेका छन्। पहारीले मिसन २०८४ अध्यक्ष ओलीको नेतृत्वमा गएर एमालेले बहुमत ल्याउनुपर्ने बताए। सोमबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्न चाहने केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको थियो।

उपाध्यक्ष एवं विधान संशोधन समितिको संयोजक विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरे। महासचिव शंकर पोखरेलले विधान महाधिवेशनमा प्रस्तुत गरिने संगठनात्मक प्रस्तावका सन्दर्भमा प्रकाश पारेका थिए। 

उता मधेस प्रदेशका सांसदहरूले उमेरहद र ७० वर्षे प्रावधानबारे आफ्नो स्पष्ट धारणा राखेका थिए। केन्द्रीय सदस्य अरविन्द सिंहले भने उमेरहदलाई आफू अनुकूल बनाउनु सकारात्मक विषय नभएको बताएका थिए। ‘उमेरहद आफू अनुकूल राख्ने र हटाउने क्रम अन्त्य हुनुपर्छ,’ उनले भनेका थिए। ७० वर्षे उमेर हद र दुई कार्यकालको प्रावधान हटाउँदा पदाधिकारीको प्रतिस्पर्धा झन् बढ्ने उनको धारणा थिए। उनले पूर्वराष्ट्रपतिको जिम्मेवारी चाँडो टुंगो लगाउन पनि माग गरेका थिए। ‘पूर्वराष्ट्रपतिको सदस्यता र जिम्मेवारी चाँडो टुंगो लगाइयोस्,’ उनले भनेका थिए।

बैठकको सुरुआतमा प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न नेता–कार्यकर्तालाई चेतावनी दिएसँगै त्यसपछि धारणा राख्ने क्रममा केन्द्रीय सदस्यहरू अलमलमा परेका थिए। आफूले पूर्वराष्ट्रपति भण्डारीसँग आइतबार च्यासलमै भेटवार्ता गरेको विषयमा पनि ओलीले केन्द्रीय सदस्यहरूलाई प्रस्ट पारेका थिए। 

‘मेरो र विद्याजीका बिचमा हिजो कुराकानी भयो। यसलाई ठुलो कुरा बनाउन जरुरी छैन। उहाँलाई मैले केही कुरा भनेको छु। त्यसको जवाफ आएको छ,’ ओलीले भनेका थिए। ओलीले भेटघाटका क्रमममा पोलिटब्युरोको निर्णय जानकारी दिएको पनि बताएका थिए। ‘राष्ट्रिय राजनीति, राष्ट्रपतिको गरिमा र हाम्रो गणतन्त्रलाई अनावश्यक विवादमा तान्न नहुने कुरा पनि स्पष्ट रूपमा राखिएको छ। उहाँले आफ्नो धारणा सोचेर पछि जानकारी दिने बताउनुभएको छ। उहाँको धारणा आएपछि आवश्यकतानुसार पार्टीले थप निर्णय गर्नेछ,’ अध्यक्ष ओलीले भनेका थिए।

पार्टीका प्रचार विभाग प्रमुख एवं पोलिटब्युरो सदस्य राजेन्द्र गौतमले पनि पूर्वराष्ट्रपतिसँग भेटघाट भएको विषय पार्टी अध्यक्षले बैठकमा जानकारी गराएको बताएका छन्। अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै गौतमले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीसँग सबै कुरा खुला रूपमा राखेको बताएका थिए। 

‘हिजो (आइतबार) पार्टी अध्यक्ष र पूर्वराष्ट्रपतिबिचको भेटघाटको प्रसंग पनि छ, पूर्वराष्ट्रपतिको आग्रहमै १०औं वर्ष पार्टी अफिसमा म जान सकिरहेको छैन, हेरेको छैन भनेर पार्टी अफिसमै कुरा गरौं भन्ने सल्लाहबमोजिम भेट भयो,’ ओलीको भनाइ उल्लेख गर्दै गौतमले भने, ‘भेटका क्रममा सबै कुरा खुलस्त ढंगले प्रस्तुत भएको छ। राष्ट्रिय राजनीति कसरी अघि बढेको छ। 

एमालेमाथि कसरी प्रहार भइरहेको छ, एमालेमाथि प्रहार गर्ने तत्वहरू कसरी सल्बलाइरहेका छन् भन्नेदेखि सरकारले गरेका काम विधान अधिवेशनको तयारीका सन्दर्भमा खुला रूपमा छलफल भएको कुरा भन्नुभयो। राष्ट्रपति राजनीतिमा आउनुहुन्छ कि हुँदैन भन्ने विषय पार्टी अध्यक्षले आफ्नो तर्फबाट चलिरहेका अभ्यासका बारेमा पार्टीका तर्फबाट स्पष्ट दृष्टिकोण राख्नुभएको छ। पार्टी सदस्यतका विषयमा पनि कुनै विवाद गर्नुपर्ने विषय रहेन, केन्द्रीय कमिटीले निर्णय गर्छ भनेर भन्नुभयो।’

पार्टीका प्रचार विभाग प्रमुख गौतमले दिएको जानकारीअनुसार अहिलेसम्म ४४ जनाले बोलिसकेका छन्। हालसम्म गण्डकी, मधेस, सम्पर्क समन्वय, उपत्यका प्रदेश कमिटीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यले बोलिसकेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।

प्रकाशित: ६ श्रावण २०८२ ०६:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App