१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

निर्वाचन: ७ दिनअघिदेखि मदिरा निषेध, ७२ घण्टाअघि सीमा नाका बन्द

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले सुरक्षा नीति अख्तियार गरेको छ।

आयोगले निर्वाचनको ७ दिनअघिदेखि मदिरा बिक्री-वितरणमा पूर्ण रोक लगाउनेदेखि ७२ घण्टाअघि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्नेसम्मका निर्णय गर्दै कार्यान्वयनका लागि गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

बुधबार आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको सिफारिसका आधारमा सुरक्षा र मतदान प्रक्रिया सहजीकरणका लागि विभिन्न निर्णयहरू गरिएका हुन्।

आयोगको निर्णयअनुसार मतदानको मितिभन्दा ७ दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।

त्यसैगरी, सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै मतदान हुनुभन्दा ७२ घण्टा अगाडिदेखि सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाकाहरू बन्द गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई भनिएको छ।

आयोगले फागुन २० गते राति १२ बजेदेखि २१ गते मतदान सम्पन्न नभएसम्म अनुमति प्राप्त र अत्यावश्यक बाहेकका सार्वजनिक तथा निजी सवारी साधन चलाउन रोक लगाएको छ।

यद्यपि, एम्बुलेन्स, दमकल, शववाहन, रगत सञ्चार सेवा, सुरक्षा निकाय, विद्युत्/खानेपानी/ढल/दूरसञ्चार मर्मतका साधन र कूटनीतिक नियोगका सवारी साधनहरू भने सुचारु रहनेछन्।

मतदानको दिन आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडानहरू भने यथावत् सञ्चालन हुनेछन्। हवाई यात्रुहरूले आफ्नो टिकट देखाएर विमानस्थलदेखि घर वा होटेलसम्म जानका लागि निजी वा एयरलाइन्सले उपलब्ध गराएको सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ।

भोट हाल्न यी सरकारी कागजातलाई पनि मान्यता

मतदाताको सहजताका लागि आयोगले मतदान गर्न जाँदा मतदाता परिचयपत्रका अतिरिक्त अन्य ५ वटा सरकारी कागजातलाई पनि मान्यता दिएको छ। मतदाता नामावलीमा नाम भएका व्यक्तिले मतदान केन्द्रमा जाँदा निम्नमध्ये कुनै एक कागजात देखाएर मतदान गर्न पाउनेछन्।

-मतदाता परिचयपत्र

-नेपाली नागरिकताको प्रमाणपत्र

-राष्ट्रिय परिचयपत्र

-राहदानी (पासपोर्ट)

-जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)

-सवारी चालक अनुमतिपत्र (लाइसेन्स)

कुनै एउटा कागजात साथमा लिएर गएका मतदातालाई मतदान गर्नबाट नरोक्न आयोगले मतदानमा खटिने सम्पूर्ण कर्मचारी र सुरक्षाकर्मीलाई निर्देशन दिएको छ।

आयोगले फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध अवधि लागू हुने जनाएको छ। यस अवधिमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन र कहीँकतै उल्लंघन (कसुर तथा सजाय ऐन २०७३ को दफा २४ र आचारसंहिताको दफा १७ र १८ विपरीतका कार्य) भएको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगलाई जानकारी गराउन प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिइएको छ।

त्यस्तै, मतदानको दिन सवारीसाधनको पास वितरण गर्न निर्वाचन आयोगको सचिवालय परिसरमै पास वितरण एकाइ खडा गरिनेछ। उक्त एकाइमा आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंका २/२ जना कर्मचारी खटिने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १३ फाल्गुन २०८२ २१:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App