२ चैत्र २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बिल गेट्सले स्वीकारे मेलिन्डासँग विवाहमा हुँदा दुई रूसी महिलासँगको सम्बन्ध, माफी माग्दै के भने?

माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले आफूले मेलिन्डा गेट्ससँग विवाह सम्बन्धमा रहँदा दुई रूसी महिलासँग सम्बन्ध राखेको बताएका छन्।

मंगलबार गेट्स फाउन्डेसनका कर्मचारीहरूसँगको बैठकमा उनले एकजना पुल खेलाडी र अर्की आणविक भौतिकशास्त्री रहेको खुलासा गरेका हुन्। उनले दोषी ठहरिएका यौन अपराधी जेफ्री एपस्टाइनसँगको विगतको सम्बन्धलाई ठूलो गल्ती मानेर पछुतो व्यक्त गरेका थिए। 

उनले भने, ‘मैले केही अवैध काम गरेको छैन। मैले केही अवैध देखेको छैन।’

गेट्सका अनुसार ती महिलाहरू एपस्टाइनका अपराधसँग जोडिएका थिएनन्। उनलाई त्यतिबेला एपस्टाइनका अवैध गतिविधिबारे जानकारी थिएन। एपस्टाइनले पछि ती सम्बन्धबारे थाहा पाएको उनले बताए। उनले पुल खेलाडीसँगको सम्बन्धमा एपस्टाइनले धम्की दिएको पुरानो रिपोर्टलाई पनि उल्लेख गरेका छन्। 

सो अवसरमा ७० वर्षीय गेट्सले एपस्टाइनलाई राम्रोसँग परीक्षण नगरेको कुरा पनि स्वीकार गरे। उनले सन् २०१४ सम्म एपस्टाइनलाई भेटिरहेको उल्लेख गर्दै कम्तीमा एक पटक निजी जेटमा सँगै यात्रा गरेको बताए। तर कहिल्यै एपस्टाइनको टापु वा सम्पत्तिमा रात नबिताएको उनको जिकिर छ। 

उनको दाबी अनुसार मेलिन्डाले सधैं एपस्टाइनसँगको सम्बन्धमा शंका गरेकी थिइन्। आफ्ना कारणले फाउन्डेसनमा असर पारेको स्वीकारोक्ति समेत उनको थियो।

‘मैले गरेको गल्तीका कारण संलग्न अन्य व्यक्तिहरूसँग म माफी चाहन्छु। यो फाउन्डेसनको मूल्य र लक्ष्य विपरीत हो,’ उनले भने।

गेट्स र मेलिन्डाले १९९४ देखि २०२१ सम्म विवाह सम्बन्धमा रहेका थिए। मेलिन्डाले पहिले नै गेट्सको विवाहेत्तर सम्बन्ध र एपस्टाइनसँगको सम्पर्कलाई सम्बन्धविच्छेदको कारण बताएकी थिइन्। 

जेफ्री एपस्टाइन सन् २०१९ अगस्ट १० मा जेलमा मृत भेटिएका थिए, जसलाई आत्महत्या ठहर गरिएको थियो।

फोर्ब्सका अनुसार गेट्स अहिले विश्वका १८ औं धनी व्यक्ति हुन्, जसको कुल सम्पत्ति करिब १०७ दशमलब ३ अर्ब डलर रहेको छ। एजेन्सी

प्रकाशित: १३ फाल्गुन २०८२ २२:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App