१० मंसिर २०८३ बिहीबार
image/svg+xml
समाज

विश्वशान्ति ध्यानमय पदयात्रा लुम्बिनीमा

विश्वशान्ति, आध्यात्मिक जागरण र ध्यानको सन्देश फैलाउने उद्देश्यसहित पोखराबाट सुरु भएको मनोक्रान्ति विश्वशान्ति ध्यानमय पदयात्रा रुपन्देही आइपुगेको छ।

विकासानन्द फाउन्डेसन विश्व परिवार, गण्डकी प्रदेशको आयोजनामा यही मङ्सिर ३ गते पोखरा–२३ स्थित इको स्पिरिचुअल योग आश्रम, बाराङबाट सुरु भएको पदयात्रा बुधबार बुटवल आइपुगेको हो।

मनोक्रान्ति अभियानका नेता तथा आध्यात्मिक गुरु डा योगी विकासानन्दले पदयात्रामार्फत प्रत्येक पाइलालाई ध्यानसँग जोड्दै मानसिक शान्ति, आत्मिक आनन्द र सकारात्मक सोचको अभ्यास गराइने बताए। उनले चक्रमण ध्यानले मनलाई वर्तमानमा केन्द्रित गर्न तथा विचारको चञ्चलता कम गर्न सहयोग पुग्ने धारणा राखे।

करिब २२० किलोमिटर दूरीको पदयात्रामा नौ महिने ध्यान शिविरमा सहभागी २५ जनासहित ३६ जना साधकसाधिका सहभागी छन्। यो अभियानको दोस्रो संस्करण हो। यसअघि पोखराको आश्रमदेखि गोरखनाथ मन्दिरसम्म १२० किलोमिटर पदयात्रा गरिएको थियो।

पदयात्राका क्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले डा योगी विकासानन्दलाई कर्णेल उजिरसिंहको तस्बिरसहित सम्मान गरे। योगी विकासानन्द र गुरुआमा कमलेश्वर आनन्दलाई बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा जनप्रतिनिधि नरिश्वर शर्मा पौडेल, अभियन्ता नारायणप्रसाद घिमिरेलगायतले स्वागत गरेका थिए।

पदयात्रा टोलीले लुम्बिनी पुगेर कार्यक्रमको समापन हुनेछ।

प्रकाशित: १० मंसिर २०८३ ०६:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App